बर्दघाट खानेपानीद्रारा खानेपानी सुरक्षासँगै सरसफाइमा आमा समूहको भूमिका बढाउँदै
प्रकाश न्यौपाने
भाद्र ३ गते ।
नवलपरासी । पानी जीवनको आधार हो। तर स्वच्छ पानीको उपलब्धता मात्र पर्याप्त हुँदैन; त्यसको मुहान संरक्षणदेखि घरमा सुरक्षित भण्डारण, प्रयोग र वरपरको वातावरणीय सरसफाइसम्मका विषय उत्तिकै महत्वपूर्ण हुन्छन्। यही तथ्यलाई समुदायस्तरसम्म पुर्याउने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले स्थानीय आमा समूहलाई लक्षित गरी खानेपानी सुरक्षा तथा सरसफाइसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
बुधबार संस्थाको आफ्नै सभाहलमा बर्दघाट–४ स्थित थारुगाउँ टोल विकास संस्था तथा त्यहाँका आमा समूहको सहभागितामा भएको कार्यक्रममा खानेपानीको सुरक्षा, पानीजन्य रोगको जोखिम, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, भूमिगत पानीको संरक्षण र फोहोर व्यवस्थापनका विषयमा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका ‘वास’ (WASH) शाखा प्रमुख कृष्णहरि पौडेलले नगरभित्र रहेका १२ वटा खानेपानी संस्थामध्ये बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अभिभावकीय भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले खानेपानीको पहुँच विस्तारसँगै अबको चुनौती फोहोर व्यवस्थापन र वातावरणीय सरसफाइ रहेको उल्लेख गर्दै प्लास्टिकजन्य वस्तुको प्रयोग घटाउन समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
खानेपानी सुरक्षा केवल पाइपबाट घरसम्म पानी पुर्याउने विषय नभई मुहानदेखि उपभोक्ताको मुखसम्म पानीको गुणस्तर कायम राख्ने निरन्तर प्रक्रिया भएको उहाँको भनाइ थियो। त्यसका लागि उपभोक्ता स्वयं सचेत हुनुपर्ने र संस्थासँगै समुदायले पनि खानेपानी सुरक्षामा जिम्मेवारी लिनुपर्ने कार्यक्रममा जोड दिइएको थियो।
संस्थाका अध्यक्ष दीपक लम्सालले भूमिगत पानीको स्रोत संरक्षणका लागि वृक्षरोपण, तालतलैया संरक्षण तथा पुनःभरण क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनुभयो। उहाँले संस्थाले वितरण गर्दै आएको पानी नियमित परीक्षण गरेर मात्र उपभोक्तामाझ पुर्याउने गरिएको जानकारी दिँदै संस्थाबाट वितरण हुने पानीमा थप फिल्टर आवश्यक नरहेको स्पष्ट पार्नुभयो। क्लोरिनयुक्त पानी तामाको भाँडामा भण्डारण नगर्नसमेत उहाँले उपभोक्तालाई आग्रह गर्नुभयो।
कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र बर्दघाट–४ की प्रमुख एवं जनस्वास्थ्य निरीक्षक सुदीपा शर्माले पानीजन्य रोग, सुरक्षित खानेपानी, पानी शुद्धीकरण तथा महिला स्वास्थ्यका विषयमा सहजीकरण गर्नुभयो। दूषित पानी र कमजोर सरसफाइका कारण विभिन्न रोगको जोखिम बढ्ने भएकाले पानीको सुरक्षित प्रयोगसँगै घर तथा समुदायको सरसफाइलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो।
संस्थाका व्यवस्थापक विष्णुकुमार भुसालले संस्थाका गतिविधि तथा पानी परीक्षणको अवस्थाबारे जानकारी गराउँदै नियमित परीक्षणपछि मात्र पानी वितरण गरिने भएकाले उपभोक्तालाई ढुक्क भएर पानी प्रयोग गर्न आग्रह गर्नुभयो।
त्यस्तै, संस्थाकी कोषाध्यक्ष राधादेवी अधिकारीले खानेपानी तथा सरसफाइको अभियानलाई प्रभावकारी बनाउन महिलाको सहभागिता अझ बढाउनुपर्ने बताउनुभयो। घरपरिवारदेखि समुदायसम्म सरसफाइ र पानीको सदुपयोगका विषयमा महिलाको भूमिका महत्वपूर्ण हुने भएकाले विभिन्न संघसंस्थाको नेतृत्वमा पनि महिलाको सहभागिता बढाउनुपर्ने उहाँको भनाइ थियो।कार्यक्रमका अध्यक्ष तथा खानेपानी सुरक्षा योजना समितिका संयोजक कमल थापाले ‘मुहानदेखि उपभोक्ताको मुखसम्म शुद्ध पानी’ पुर्याउनु संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो।
बर्दघाट–४ का विभिन्न टोल विकास संस्थाअन्तर्गतका आमा समूहलाई लक्षित गरी अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उहाँले समुदायको सहभागिताबिना खानेपानी सुरक्षा योजना प्रभावकारी हुन नसक्ने बताउनुभयो। कार्यक्रममा थारुगाउँ टोल विकास संस्थाका अध्यक्ष भुसहि चौधरी तथा बुढा बराजु कृषि महिला समूहकी अध्यक्ष अनिता कुमारी थारुलगायतले स्थानीय स्तरमा खानेपानी तथा सरसफाइका सवालमा समुदायले भोगिरहेका समस्या र समाधानका उपायबारे धारणा राख्नुभएको थियो।
सहभागी आमा समूहका प्रतिनिधिहरूले खानेपानीका मुहान संरक्षण, पानीको मितव्ययी तथा सुरक्षित प्रयोग, फोहोर व्यवस्थापन र सरसफाइसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए। उनीहरूले खानेपानी सुरक्षा योजनालाई कागजी योजनामा मात्र सीमित नराखी टोल–टोलसम्म व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमसँगै सहभागीहरूलाई संस्थाले संरक्षण गर्दै आएको वृक्षरोपण क्षेत्र, भूमिगत पानी उत्पादन क्षेत्र, कृत्रिम ताल, पुनःभरण (रिचार्ज) पोखरी तथा पानी परीक्षण प्रयोगशालाको अवलोकनसमेत गराइएको थियो। यसले खानेपानीको स्रोत संरक्षण, भूमिगत पानी पुनःभरण तथा पानीको गुणस्तर परीक्षण कसरी गरिन्छ भन्ने विषयमा सहभागीलाई प्रत्यक्ष जानकारी प्राप्त भएको थियो। खानेपानीको संकटलाई केवल पानीको अभावका रूपमा बुझ्ने प्रवृत्तिभन्दा स्रोत संरक्षण, वातावरणीय सन्तुलन, स्वच्छता र पानीको गुणस्तरलाई एकीकृत रूपमा हेर्नुपर्ने कार्यक्रमले सन्देश दिएको छ।
विशेषगरी आमा समूहलाई अभियानसँग जोडिनुले घरपरिवारमा मात्र नभई टोलस्तरमा समेत व्यवहार परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। खानेपानी सुरक्षा योजना टोलीकी सदस्य कल्पना खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शोभाकान्त कोइराला ‘शिव’ले गर्नुभएको थियो। कार्यक्रममा संस्थाको कार्यसमिति, खानेपानी सुरक्षा योजना टोली, सम्बन्धित टोलका आमा समूह, बुद्धिजीवी, सञ्चारकर्मी तथा कर्मचारीसहित करिब ८० जनाको सहभागिता रहेको थियो।









