गरिबीको पीडामा राहतः चिसापानी सामुदायिक वनद्वारा घर हस्तान्तरण

प्रकाशित मिति:

प्रकाश न्यौपाने

बैशाख २२ गते

 

नवलपरासी (बर्दघाट) — चिसापानी सामुदायिक वन उपभोक्ता समूह बर्दघाट–२, चिसापानीले स्थानीय गरिब तथा बिपन्न परिवारलाई घर हस्तान्तरण गरेको छ। आर्थिक रूपमा कमजोर एकल महिला चानमति हरिजनलाई उक्त समूहले घर निर्माण गरी हस्तान्तरण गरेको हो।


७० वर्षीया हरिजन वर्ष २०३० सालदेखि बसोबास गर्दै आइरहेकी थिइन्। घर बनाउने आर्थिक क्षमता नभएकी उनलाई घर निर्माण संयोजक महेन्द्र काफ्लेले २ धुर जग्गा उपलब्ध गराएपछि समुदायको सहयोगमा २५ दिनको अवधिमा ६ लाख ३० हजार रुपैयाँको लागतमा पक्की घर निर्माण गरिएको हो।


कार्यक्रम चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार र डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख वन अधिकृत जीवन पंगेनीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा संस्थाकी उपाध्यक्ष इन्दुदेवी चौधरीले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन प्रेम भुजेलले गरेका थिए।


प्रमुख अतिथि पंगेनीले सामुदायिक वनले समुदायमै प्रत्यक्ष प्रभाव पार्ने कार्यहरूमा जोड दिनुपर्ने उल्लेख गर्दै यस्तो सकारात्मक पहल सबै वन उपभोक्ता समूहका लागि उदाहरणीय रहेको बताए। मन्त्री कलवारले आफू वन मन्त्री बनेको ६ महिनामै यस्तो काम भएकोमा खुसी व्यक्त गर्दै सामुदायिक वनले स्वास्थ्य, शिक्षा, आवास लगायतका क्षेत्रमा लगानी गर्नु आवश्यक रहेको बताए।


अध्यक्ष गुरुङले विद्यालय, प्रहरी चौकी, अस्पतालजस्ता संस्थामा पनि फर्निचर तथा आर्थिक सहयोग गर्दै आएको जानकारी दिए। उनले चानमति हरिजनलाई घर हस्तान्तरण गर्नुका साथै घरमा विजुलीको मिटर जडानसमेत गरिएको जानकारी दिए। घर प्राप्त भएपछि हरिजन निकै खुसी देखिएकी थिइन्।