प्रकाश न्यौपाने
बैशाख २२ गते
नवलपरासी । पटक–पटक बिना पूर्व सूचना हुने विद्युत कटौती र अनियमित आपूर्तिका कारण उद्योगी, व्यवसायी र आम नागरिक मर्कामा परेको भन्दै उद्योग व्यापार सङ्घ बर्दघाटले नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ।
आइतबार बर्दघाट–४ स्थित महाशिवरात्रि इलेक्ट्रोनिक्स पसलमा विद्युत सर्टका कारण आगलागी भई ठूलो मात्रामा क्षति पुगेपछि उद्योग व्यापार सङ्घले विद्युत आपूर्तिमा सुधारको माग गर्दै वितरण केन्द्र प्रमुख इञ्जिनियर प्रशान्त कुमार झालाई ध्यानाकर्षण गराएको हो।
सङ्घका अध्यक्ष राजु न्यौपानेको नेतृत्वमा बर्दघाट जेजीज अध्यक्ष मोहन सापकोटा, नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा तथा अन्य व्यवसायीहरूको टोलीले केन्द्रमा पुगेर सामूहिक संवाद गर्दै पत्र बुझाउनु भएको छ ।
ध्यानाकर्षण पत्रमा प्राधिकरणको लापरबाहीले नागरिक र व्यवसायीले निरन्तर समस्या भोग्नुपरेको उल्लेख गर्दै, यस्ता घटनाले जुनसुकै बेला गम्भीर दुर्घटना हुन सक्ने खतरा रहेको चेतावनी दिएका छन । समस्या समाधानमा वितरण केन्द्रले गम्भीरता नदेखाएको भन्दै सङ्घले अविलम्ब सुधार नभए आन्दोलनमा उत्रिने चेतावनी समेत ब्यवसायीहरुले दिएका छन ।
पत्र बुझ्दै वितरण केन्द्र प्रमुख झाले भने अघोषित लोडसेडिङ नभएको स्पष्ट पार्दै बजार क्षेत्रका नाङ्गा तार हटाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उद्योग सङ्घ अध्यक्ष न्यौपानेले उद्योगी तथा व्यवसायीको समस्यामा सधैँ संस्था साथमा रहेको भन्दै समाधानको लागि निरन्तर दबाब दिइने उल्लेख गर्नु भयो । पछिल्लो समयमा दिनमा धेरै पटक लाइन काट्दा बर्दघाटका स्थानीयहरुले कष्ट पाएका छन ।










