विमानस्थल सञ्चालन पहलप्रति मेयर खाँको पर्यटनमन्त्री पाण्डेलाई धन्यवाद, सिद्दार्थनगरलाई उपमहानगर बनाउने माग
भैरहवा। सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख एवं संविधानसभा सदस्य इश्तियाक अहमद खाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी सर्वपक्षीय छलफलको पहल गरेबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेलाई धन्यवाद दिनुभएको छ। सोमबार मन्त्री पाण्डेको अगुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भैरहवामा विमानस्थल सञ्चालन र समग्र पर्यटन प्रवर्द्धनका विषयमा सर्वपक्षीय संवाद कार्यक्रम सम्पन्न भएको थियो। मेयर खाँले मन्त्री पाण्डेको पहलमा सरोकारवाला निकायहरूको सहभागीता सुनिश्चित गर्दै संवादको आयोजना हुनु सकारात्मक पहल भएको बताउनुभयो।
उहाँले यसअघि चैत २८ मा विमानस्थल सञ्चालनका लागि पत्राचार गरेर ध्यानाकर्षण गराइसकेको स्मरण गराउँदै ढिलो भए पनि सुनुवाइ भएकोप्रति सन्तोष व्यक्त गर्नुभयो। छलफलमा सहभागी श्रम तथा रोजगार मन्त्री शरत सिंह भण्डारी, परराष्ट्रमन्त्री आरजु राणा देउवासहित सबै सरोकारवालालाई उहाँले धन्यवाद दिनुभएको छ। साथै, संवादलाई निरन्तरता दिँदै छिट्टै परिणाम नआएमा आन्दोलनको विकल्प नरहने चेतावनी पनि दोहोर्याउनुभयो।
त्यसैगरी, मेयर खाँले सिद्धार्थनगर नगरपालिकालाई उपमहानगर वा महानगरमा स्तरोन्नति गर्नुपर्ने माग राख्नुभएको छ। लुम्बिनी प्रदेशको राजधानी देउखुरी, दाङमा आयोजित राष्ट्रिय सभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखबीचको समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यो कुरा राष्ट्रिय सभामा उठाउन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। उहाँले केन्द्रले सबै काम सिंहदरबारबाट गर्ने प्रयास गरे स्थानीय तहहरू कमजोर हुने उल्लेख गर्दै, प्रभावकारी कामको लागि स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रम संघीय संसद सचिवालय, सिंहदरबारको आयोजनामा सम्पन्न भएको थियो।










