बर्दघाट खानेपानीको साधारण सभामा विपन्न परिवारलाई धारा जडानदेखि मुहान संरक्षणसम्म जोड

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असोज ४ गते
नवलपरासी । आर्थिक अभावका कारण खानेपानीको धारा जडान गर्न नसकेका विपन्न परिवारलाई लक्षित गर्दै बर्दघाट नगरपालिका र बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले लागत साझेदारीमा धारा जडान गर्ने नीति अघि सारेका छन्। बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २६औँ वार्षिक साधारण सभामा नगरप्रमुख शम्भुलाल श्रेष्ठले विपन्न परिवारका लागि धारा जडान गर्दा नगरपालिकाले ७० प्रतिशत र संस्थाले ३० प्रतिशत लागत व्यहोर्ने व्यवस्था गरिएको बताउनु भयो ।


उहाँले आर्थिक अभावकै कारण कुनै परिवार शुद्ध खानेपानीको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न नगरपालिका र संस्था सहकार्यका लागि तयार रहेको उल्लेख गर्नु भयो । साधारण सभामा भने धारा जडानभन्दा बाहिर गएर पानीको स्रोत संरक्षण, भूमिगत जल पुनर्भरण र चुहावट नियन्त्रणलाई दीर्घकालीन चुनौतीका रूपमा उठाइएको थियो।


खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख दिनेशकुमार शाहले भूमिगत जलको पुनर्भरण कार्यक्रमलाई प्राथमिकता दिन आग्रह स्पर्धा भयो ।  सभामा खानेपानीको सेवा विस्तारसँगै उपभोक्तामैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने मागसमेत उठेको छ। पूर्व नगरप्रमुख धीरज शर्मा बस्यालले दीर्घरोगी उपभोक्तालाई उपचार तथा सहायता उपलब्ध गराउने नीति बनाउन सुझाव दिनु भयो । पानीको सदुपयोग र मुहानको सरक्षणमा उपभोक्ता नै सचेत हुनु पर्ने बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले भनाइ राख्नु भयो । उहाले पानीको सदुपयोग र उपभोग तथा चुहावटमा उपभोक्ताहरु चनाखो हुनु पर्नेमा जोड दिनु भयो ।


कार्यक्रममा खाने पानी तथा सरसफाई उपभोक्ता महासंघ, पश्चिम नवलपासीका अध्यक्ष देवी दत्त सापकोटाले खानेपानी वितरणका लागि नगरले एक घर एक धारा अभियानका लागि आवश्यक बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई आग्रह गर्नु भयो ।


संस्थाका सल्लाहकार रविन्द्रविक्रम हमालले पानी चुहावट नियन्त्रणका लागि छुट्टै कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नु भयो । बार्षिक साधारण सभामा उपभोक्ताका तर्फबाट बर्दघाट ४ कि उपभोक्ता दिलकुमारी कुँवरले अशक्त उपभोक्ताका लागि सहायता कार्यक्रम ल्याउन तथा ढल निकास र फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता दिन सस्थालाइ आग्रह गर्नु भयो ।


खानेपानी परीक्षणको सुविधा जिल्लाभर विस्तार गर्नुपर्ने र ‘एक घर एक धारा’ अभियानका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने लगायतका सुझाव पनि साधारण सभामा आएको छ।
संस्थाका अध्यक्ष दीपक लम्सालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधि, आगामी योजना र चुनौतीबारे जानकारी गराउनु भएको थियो । त्यस्तै सस्थाका उपाध्यक्ष कमल थापाले खानेपानी सुरक्षा सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष राधादेवी अधिकारीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक नारायण भण्डारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको प्रतिबेदन साधारणसभा मार्फत पारीत गरिएको छ ।


संस्थाको २६औँ वार्षिक साधारण सभाका अवसरमा कार्यक्षेत्रभित्रका ५ वटा टोल विकास संस्था तथा विभिन्न सामाजिक अभियन्तालाई सरसफाइका आवश्यक औजारसमेत वितरण गरिएको संस्थाले जनाएको छ। सस्थाले हाल ४ हजार ३ सय १ घर घुरीलाइ शुद्ध खानेपानी २४ सै घण्टा उपलब्ध गराएको उल्लेख गरेको छ ।