दिव्य शान्ती इको पार्कको समुद्द्घाटन, वातावरण मैत्री बिकासमा जोड

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
जेष्ठ १८ गते
नवलपरासी । बर्दघाट नगरपालिका ४ मा रहेको दिव्यशान्ति इको पार्कमा टिकट घर, तारजाली र गेटको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले शनिबार एक कार्यक्रमका बिच समुद्द्घाट गर्नु भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कलवारले विदेशबाट हुने काठको आयात तत्काल रोक्नु पर्ने बताउनु भएको छ । सामुदायिक वनमा काठ बिक्री नहुदा समेत बिदेशबाट काठको आयात हुनु दुखद भएको मन्त्री कलवारले बताउनु भयो। उहाले लुम्बिनी प्रदेशमा काठ कुहिएको अवस्थामा रहेको भन्दै अब काठ आयात होइन, निर्यातको दिशा लिने समय आएको उल्लेख गर्नु भयो । “हाम्रो देशमा काठ प्रशस्त छ, तर पनि बिदेशबाट आयात भइरहेको छ। यो तुरुन्त रोक्नुपर्छ,” उहाले भन्नुभयो, “५ लाख क्युफिट काठ लुम्बिनी प्रदेशमा रहेको छ, यसको उपयोग गर्न नागरिकले नागरिकताको प्रतिलिपि र रकम बुझाएपछि सहज रूपमा काठ पाउने वातावरण बनाउनुपर्छ।”


मन्त्री कलवारले लुम्बिनी प्रदेश सरकारबाट निर्माण हुने संरचनामा झ्याल तथा ढोका काठकै प्रयोग गराउने अभियान संचालन गर्ने तयारीमा रहेको जानकारी पनि दिनु भयो ।


कार्यक्रममा बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले इको पार्क वातावरणमैत्री विकासको राम्रो उदाहरण भएको उल्लेख गर्दै फलाम र सिमेन्टजस्ता अत्यावश्यक सामग्रीबाहेक अन्य संरचना काठबाटै निर्माण गर्नुपर्ने बताउनु भयो । राज्यले माथिबाट दिएको भन्दा पनि समुदायले माग गरेका क्षेत्रमा बजेट आएमा त्यसको उपलब्धि प्रभावकारी हुने उपाध्यायको भनाइ छ ।


कार्यक्रममा बर्दघाट–४ का वडाध्यक्ष वेदविना तिवारीले लुम्बिनी प्रदेशको प्रवेशद्वारलाई कलात्मक रुपमा विकास गर्न सकिने र यसबाट पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नु भयो । ” हामी अन्यत्र घुम्न गए जस्तै लुम्बिनी प्रदेशको गेट हेर्न बाहिर बाट आउने पर्यटकहरु तान्न सकिन्छ ।” तिवारीले भन्नु भयो । कार्यक्रममा पारिजात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह थापा र दिव्यनगर टोल विकास संस्थाका अध्यक्ष भीमबहादुर रानाले सार्वजनिक जग्गाको संरक्षण र पार्क व्यवस्थापन राम्रो भएको बताउनु भयो ।


उद्घाटन समारोहमा इको पार्क व्यवस्थापन समितिका अध्यक्ष गोपालसिंह राना मगरको अध्यक्षता, उपाध्यक्ष दानबहादुर शाहीले स्वागत र कोषाध्यक्ष अमर थापाले सञ्चालन गर्नु भएको थियो । समारोहमा स्थानीयवासी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।