क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

प्रकाशित मिति:

शिशिर सिंखडा, टोरण्टो । ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ । नेपाली सुगम संगीतका सदाबहार गायक रामकृष्ण ढकालले कार्यक्रमको पहिलो कोसेली स्वरुप स्टेजमा हार्मोनियम बजाँउदै देश प्रेम भावको गीत – “बिहान उठने बित्तिकै हिमाल देख्न पाईयोस….“ जब गाउन शुरु गरे दर्शकहरुको गडगडाहक तालीले हल गुञजायमान भएको थियोे भने बिदेशी भुमीमा भएका नेपाली दर्शकहरु आफ्नो नेपाली माटो र राष्ट्रियता सम्झदै भावुक समेत बनेका थिए । ब्राम्पटनको भुखाराग्रील रेस्टुरेन्टको हलमा खचाखच भरिएका दर्शक माझ नेपाली सुगम संगीतका हस्ती गायक ढकालले चरीले त छाडेर गैगयो…, मन पराउने हजार भेटीन्छ्न…, माया गर्नेको…, ओराली लागेको…, जस्ता गीतहरु गितार, तबला र हार्मोनियमको तालमा प्रत्यक्ष सुन्न, देख्न र संगै गाउन पाँउदा कयौं दर्शकहरु उत्साही त कयौं भावुक बनेका थिए ।

दर्शकहरुले स्वर सम्राट स्व. नारायण गोपालका केहि गीत र युगल गित समेत सुनेर पनि भरपुर मनोरञ्जन लिएका थिए । गायक ढकाललाई युगल गीतमा गायिका रीता बुर्लाकोटीले साथ दिएकी थिईन भने तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिएका थिए । एकल साँझ कार्यक्रम जुन २१ तारेख शनिबार (असार ७ गते) भएको थियो ।२०४५ सालमा १३ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन । २० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौ गीतहरु चर्चित छन । उनले ५ हजार भन्दा बढी गीत गाएका छन ।प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत सङ्गीतप्रति माया गर्नेहरुलाई यो एक उत्कृष्ट कार्यक्रम रहेको आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताउनु भयो ।सो कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा सहभागी सहृदयी नेपालीहरुलाई आयोजक समितिका अध्यक्ष कमल ज्ञवालीले धन्यवाद तथा आभार व्यक्त गर्नु भएको थियो ।  बचत रकम पशुपतिनाथ मन्दिरमा पुजा गरि सहयोग-“रामकृष्ण ढकाल साँझ“ कार्यक्रमबाट बचेको रकम ब्राम्पटनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पुजा अर्चना गरि हस्तान्तरण गरिएको छ । समुहको तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत (आज) आईतबार बिहान मन्दिरमा पुजा अर्चना गरि रकम हस्तान्तरण गरिएको कार्यक्रम सम्योजक ऋषि पोख्रेलले बताउनु भयो ।