न्यू लाइफ मा.वि. बर्दघाटमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखिकरण

प्रकाशित मिति:

साउन ९ गते
नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका–४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीलाइ लक्ष्यित गरिएको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष थम अधिकारीको अध्यक्षतामा र केन्द्रीय प्याब्सनका सल्लाहकार सुमन गोपाल आचार्य प्रमुख अतिथि तथा सहजकर्ताको रूपमा उपस्थित रहनु भएको थियो ।


कक्षा ११ पढ्नका लागी आएका करिब २ सय जना विद्यार्थीहरुलाई अभिमुखिकरण गर्दै आचार्यले विद्यार्थीहरूलाई सकारात्मक सोच, लक्ष्य निर्धारण, अनुशासनको महत्व र समयको सदुपयोगबारे प्रेरणादायी सन्देश दिनुभयो। उहाँले विद्यार्थी जीवनमा नै सही दिशा पहिल्याउन सके भविष्यमा सफलताको मार्ग सहज हुनेमा जोड दिनुभयो।


कार्यक्रममा प्लस टु संयोजक मोहन शरण पान्डेले स्वागत मन्तव्य दिँदै नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालयको समग्र वातावरण, ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धि तथा अनुशासन प्रणालीबारे जानकारी गराउँदै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्नु भयो ।


विद्यालयका प्रबन्ध निर्देशक डि.बि. अधिकारी, प्रधानाध्यापक सन्तोष अधिकारीलगायतले बोल्दै विद्यालयले २०६३ सालदेखि प्लस टु तह सञ्चालन गर्दै आएको र नवलपरासी जिल्ला, लुम्बिनी प्रदेश तथा राष्ट्रिय तहमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको तथ्य उल्लेख गर्नु भयो । निर्देशक अधिकारीले उत्कृष्ट नतिजाका कारण विद्यार्थी र अभिभावकको रोजाइमा न्यु लाइफ मा.बि.परेको बताउनु भयो ।


कार्यक्रममा विद्यार्थीहरुले सांगीतिक प्रस्तुति र मन्तव्यसमेत प्रस्तुति गरेका छ्न । कार्यक्रममा विद्यार्थी बिपुल विश्वकर्माले “विद्यालय किन रोजेँ?” भन्ने विषयमा आफ्ना अनुभवहरू आदान प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालयको नियम, आचारसंहिता, शैक्षिक संरचना, संकाय तथा विषय छनोट प्रक्रियाका बारेमा जानकारी गराइएको थियो।


कार्यक्रममा शिक्षकहरुको तर्फबाट बोल्दै शिक्षक चेत नारायण भण्डारीले ब्यवस्थापन संकाय अहिलेको र भविष्यको अत्यन्तै सम्भावनायुक्त र व्यवहारिक विषय भएको उल्लेख गर्नु भयो ।
ब्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीका लागि धेरै क्षेत्रहरूमा अवसर खुला हुने उल्लेख गर्दै संघ संस्था, सरकारी, गैरसरकारी, व्यवसायिक, शैक्षिक, बित्तीय तथा बैक, बिमाजस्ता क्षेत्रमा लाग्न सकिने बताउनु भयो ।

व्यवस्थापन अध्ययनले व्यवहारिक सोच, निर्णय क्षमता, नेतृत्व विकास गर्ने र बढ्दो विश्वव्यापीकरण तथा प्रविधिले व्यवस्थापन सीप भएका व्यक्तिहरूको माग झनै बढ्दै गएको भण्डारीले उल्लेख गर्नु भयो ।


विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष थम अधिकारीले नेपालमा सबै भन्दा धेरै विद्यार्थीले ब्यवस्थापन संकाय पढेको उल्लेख गर्दै उहाले ब्यवस्थापन सङ्कायको क्षेत्र धेरै ठूलो रहेकोले यो संकाय पढ्ने विद्यार्थीको भबिस्य उज्ज्वल रहेको बताउनु भयो । यस विद्यालयका पूर्व विद्यार्थीहरु देशको प्रमुख प्रशासनिक निकायमा पुग्न सफल भएकोले समेत विद्यालयकाे नतिजामा हामी देश भरीमा नै अब्बल रहेको बताउदै उहाले अभिभावकहरूले गर्नु भएको लगानी र देख्नु भएको सपना पुरा गर्न न्यू लाईफ निरन्तर लागि गर्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता व्यक्त गर्नु भयो।


नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालयसँग नजिक बनाउने, शैक्षिक यात्रा सहज बनाउने र विद्यालय तथा विद्यार्थीबीचको समझदारी र सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ। विद्यालयका सह-प्रधानाध्यापक दिननाथ पौडेलको सञ्चालन रहेको कार्यक्रममा शिक्षक- शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।