साउन , मणिग्राम । ट्रेलब्लेजर्स नेपाल -Trailblazers Nepal_ नामक पर्यटन कम्पनीले पश्चिम नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रा सञ्चालन गर्दै आएको छ । पदयात्रा र भ्रमण – Trekking & Tours_ लाई मुख्यरूपमा केन्द्रित गर्दै रूपन्देहीको मणिग्रामबाट सेवा सञ्चालन गर्दै आएको कम्पनीले गत एक महिनामा दुई वटा मोटरसाइकल यात्रा सम्पन्न गरेको हो । गत साता मात्रै कम्पनीले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विभिन्न ऐतिहासिक क्षेत्रको एक दिने यात्रा सम्पन्न गरेको छ । त्यो भन्दा पहिले कम्पनीले असार अन्तिम साता मणिग्रामबाट स्याङ्जाको स्वरेक मैदान सम्मको मोटरसाइकल यात्रा सम्पन्न गरेको थियो ।
शान्तिका लागि यात्रा अर्थात् -Ride for Peace_उद्घोष सहित सञ्चालन गरिएको मणिग्रामदेखि कपिलवस्तुसम्मको यात्राका क्रममा १९ जना चालक-Rider_ सहित जम्मा २३ जनाको सहभागिता रहेको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत सुवेदीले जानकारी दिनुभयो ।यात्राका क्रममा गरिने प्रत्यक्ष प्रसारण, भिडियो ग्राफी एवम् लघु वृत्तचित्र निर्माण, अन्तर्वार्ता, फोटोग्राफी लगायतका माध्यमबाट बुद्धभूमिमा अवस्थित ऐतिहासिक स्थलहरूको प्रवद्र्धन समेत गरिएको सुवेदीले बताउनुभयो ।त्यस्तैः सहभागीहरूले क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध, शाक्यमुनि बुद्धसँग सम्बन्धित पवित्र स्थलहरू तिलौराकोट, निग्लिहवा, गोटिहवा, कुदान, ओरौराकोट, सगराहवा, तौलिहवा हुँदै जगदीशपुर ताल सम्मको यात्रा गरेको कार्यक्रम सञ्चालक एवम् महिला चालक प्रतिमा ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरूले ती क्षेत्रहरूको अवलोकन गर्दै बौद्ध धर्मको महत्व, बुद्धका जीवनपद्धति, र नेपालमा रहेको सांस्कृतिक सम्पदाको गहिरो अनुभूति गरेको कार्यक्रम संयोजक रोशन क्षेत्रीले बताउनुभयो ।यस्ता स्थानहरू अझै धेरै नेपालीहरू र विश्व समुदायमा परिचित होऊन् भन्ने ध्येयले यो कार्यक्रम सञ्चालन गरिएको समेत सुवेदीले उल्लेख गर्नुभयो । खाजा, भोजन, पानी, फोटोग्राफी र भिडियोग्राफी जस्ता सेवा सहितका यस्ता राइडले स्थानीय पर्यटन, संस्कृति र आर्थिक प्रवाहमा पनि सकारात्मक प्रभाव पार्ने आयोजक कम्पनीले बताएको छ ।यसैबीच, शान्तिका लागि पदयात्रा उद्घोष सहित नै यही भदौ १३ देखि १५ सम्म रूपन्देहीबाट ढोरपाटनसम्मको ३ दिने मोटरसाइकल यात्रा सञ्चालन गर्न लागिएको समेत सुवेदीले उल्लेख गर्नुभयो ।












