काठमाडौं । नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयक परिमार्जनको माग गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ज्ञापनपत्र बुझाएको छ । नेपालको समग्र मिडिया क्षेत्रको छाता संगठनको रूपमा क्रियाशील मिडिया सोसाइटी नेपालले प्रस्तावित“मिडिया काउन्सिल विधेयक, २०८१ माथि आफ्ना दफावार सुझावहरू संलग्न गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ज्ञापनपत्र पेश गरेको हो । नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीको नेतृत्वमा सचिव नवराज कुँवर र कार्यसमिति सदस्य तथा दैनिक पत्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक डा. बालकृष्ण चापागाईंलगायतको टोलीले समितिका सभापति अम्मर बहादुर थापालाई काठमाडौं सिंहदरबारस्थित कार्यकक्षमै भेट गरी ज्ञापनपत्र बुझाएको हो ।
मिडिया सोसाइटी नेपालका महासचिव बोधराज त्रिपाठीद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा भनिएको छ,– ‘लोकतन्त्रको एउटा महत्वपूर्ण पक्ष भनेको स्वतन्त्र मिडिया भएकोले नेपालको मिडिया क्षेत्रलाई थप व्यावसायिक, स्वतन्त्र र उत्तरदायी बनाउनका लागि मिडिया काउन्सिलको स्थापना एक महत्त्वपूर्ण कदम हो भन्ने हाम्रो ठहर छ । प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गर्ने र पत्रकारिताको स्वच्छता, स्वतन्त्रता र उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्य राखिनु सराहनीय कदम भएको र यद्यपी विधेयकका केही प्रावधानहरूले काउन्सिलको स्वायत्ततामाथि अङ्कुश लगाउन सक्ने, प्रेस स्वतन्त्रतालाई संकुचित पार्न सक्ने र नियन्त्रणमुखी चरित्र देखाएको भन्दै त्यसलाई सच्याउँदै अगाडि बढ्न मिडिया सोसाइटीले आग्रह गरेको छ ।विशेषगरी काउन्सिलको अध्यक्ष तथा सदस्यहरूको छनोट प्रक्रिया, सरकारको भूमिका र नियमनका केही व्यवस्थाहरूले मिडियाको स्वतन्त्रता र स्वायत्ततामाथि असर पर्ने मिडिया सोसाइटीले बताएको छ । मिडिया सोसाइटी नेपालले सरोकारवालाहरूसँग विस्तृत छलफल गरी तयार पारेको दफावार सुझावहरू राख्दै साँच्चिकै स्वायत्त, स्वतन्त्र र मिडिया क्षेत्रको संरक्षक संस्थाको रूपमा स्थापित गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको जनाएको छ ।










