कर्जा असुलीमा सक्रिय- स्याङ्जाका दर्जनौ घरजग्गा बैंक र सहकारीको नाममा

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल-स्याङ्जा । स्याङ्जामा बैंक तथा वित्तिय संस्थाहरुले गरेको लगानी उठाउन सक्रिय देखिएका छन् । अनुत्पादकमा लगानी गरेर कर्जा असुलीमा अफठ्यारो भोग्दै आएका बैंक तथा वित्तिय संस्थाहरुले लगानी असुलीमा सक्रियता देखाएका हुन् । धितो सुरक्षण राखेर लगानी गरेका बैंक तथा वित्तिय संस्थाहरुले असुलीमा समस्या हुने देखेपछि लिलामी गरेर भएपनि धमाधम घरजग्गा सकार्ने काममा लागिरहेका छन् । जिल्लाभर बाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त र बचत तथा ऋण सहकारीहरुले कर्जा लगानी गर्दै आएका छन् । यसको तथ्याङ्क हेर्ने हो भने झण्डै २ सय भन्दा माथी वित्तिय संस्थाहरुले अर्वौ लगानी गरेको पाइन्छ ।जिल्ला मालपोत कार्यालय स्याङ्जा र मालपोत कार्यालय वालिङको तथ्याङक हेर्दा आर्थिक बर्ष २०८१÷०८२ मा बैंक तथा सहकारीहरुले २१ ओटा घरजग्गा धितो लिलामगरी आफै सकारेको देखिएको छ । एकबर्षको अवधीमा २१ घरजग्गा धितो सकारेका बैंकहरुको लामो तथ्याङ्क हेर्ने हो भने जिल्लाभर सयौं घरजग्गा बैंक र सहकारीको नाममा रहेको हुन सक्ने अनुमान गरिएको छ । गत आर्थिक बर्षमा ४ ओटा बैंक र ४ ओटा सहकारीले धितो लिलाम गरी घरजग्गा सकारेका छन् । घरजग्गा सकार्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, आई सिं एण्ड सिं फाईनान्स रहेका छन् भने सहकारीहरुमा उपकार बचत तथा ऋण सहकारी, शुभलक्ष्मी बचत तथा ऋण सहकारी, गाउँले बचत तथा ऋण सहकारी, ग्रामिण कृषि सहकारी, ईनर्जेटिक बचत तथा ऋण सहकारी रहेका छन् ।बैंक र सहकारीले लिलामी बढाबढ सूचनाको आधारमा केही धितो जग्गा भने व्याक्तिले सकारेको मालपोतको तथ्याङकबाट देखिएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकले ३, मुक्तिनाथ विकास बैंकले ३, ज्याति विकास बैंकले ४, कामना सेवा विकास बैंक, आई सिं एण्ड सिं फाइनान्स र ऋण असुली न्यायीधिकरणले एक—एक ओटा धितो लिलाम गरेका छन् । यसैगरी गाउँले बचत तथा ऋण सहकारीले ३, उपकार बचत तथा ऋण सहकारी, शुभलक्ष्मी सहकारी, ग्रामिण कृषि सहकारी, इनर्जेटिक सहकारी र ग्रामिण सहकारीले एक—एकवटा धितो लिलाम गरेका छन् ।

बैंक र सहकारीले धितो लिलाम गरी सकारेबापत लाभकर १ करोड ४८ लाख २ हजार ४ सय १ संकलन भएको छ । घरजग्गा लिमाली प्रक्रियामा गएपछि बैंक र सहकारीहरु ऋण असुलीमा आक्रमक देखिएको यो तथ्याङकले देखाउछ । बैकिङक प्रतिस्पर्धाका कारण कुनै कार्ययोजना नवनाई नागरिकलाई कर्जा लगानी गर्दा ऋणिलाई तिर्नेबेला समस्या हुदै आएको छ । लगानी गर्दा एउटा व्याजदर कायम गरिदिने र केही समयपछि पुन अर्को व्याजदर कायम गरिदिदा पनि ऋणीले साँवाव्याज तिर्न नसकेको गुनासो गरिरहेका छन् । अनुत्पादकमा लगानी र ऋणीलाई साँवाव्याज तिर्ने वातावरण बित्तिय क्षेत्रले नवनाउदा धेरै नागरिकको घरवास समेत गुम्ने खतरा बढेको छ । मालपोत कार्यालय स्याङजा र वालिङमा विभिन्न वित्तिय संस्थाहरुले २२६३ घरजग्गा रोक्का राखेका छन् । लगानी गर्दा धितो सुरक्षणका लागि सम्पति राख्ने कानुनी मान्यता पाएपछि वित्तिय संस्थाले आर्थिक बर्ष २०८१÷०८२ मा सहकारीले १ हजार २ सय ६, बैंकले १ हजार २५ र अन्यले २३ घरजग्गा रोक्का राखेर कर्जा लगानी गरेका छन् । घरजग्गा रोक्का राखे बापत मालपोत कार्यालयले ८८ लाख १९ हजार ५ सय रकम राजस्व संकलन गरेको जनाएको छ । गत आर्थिक बर्षमा भन्दा चालु आर्थिक बर्षमा लिलामी हुने संख्या अझै बढ्न सक्ने बताइएको छ ।