रुपन्देही, कार्तिक १८।
क्वेस्ट नेपाल, सिद्धार्थ हबको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा यही कार्तिक ३० गते १०औं एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुने भएको छ। विद्यार्थीहरूको सर्वाङ्गीण विकासको उद्देश्यले तिलोत्तमा–५, मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा हुने उक्त सम्मेलनलाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ।
विद्यालय तथा विद्यार्थीहरूमा प्रतिस्पर्धाभन्दा पनि समन्वय र सहकार्यको वातावरण सिर्जना गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्वेस्ट नेपालले जनाएको छ। शिक्षा क्षेत्रमा फरक तरिकाबाट कार्य गर्दै आएको गैर–नाफामूलक संस्था क्वेस्ट नेपालका देशभर २६ वटा हबहरू रहेका छन्, जस मध्ये आयोजक सिद्धार्थ हब एक हो।
संस्थागत विद्यालयहरूमा लामो समयदेखि विद्यार्थीमैत्री कार्यक्रमका रूपमा परिचित एस.क्यु.सी.लाई सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने उद्देश्यले शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको पहलमा वि.सं. २०७८ सालमा नेपालमै पहिलोपटक सामुदायिक विद्यालयमा रविराज काफ्लेको संयोजकत्वमा सिद्धार्थ हब स्थापना गरिएको हो।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरदेवी चौधरी, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य र नगर विकास समन्वय समितिका प्रमुख रवि सेन्चुरीले कार्यक्रम विद्यार्थीका लागि अत्यन्त उपयोगी भएको बताउँदै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहजता मिलोस् भन्ने हेतुले नगरपालिकाले रु. २ लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
सामुदायिक विद्यालयहरूको शैक्षिक महाकुम्भका रूपमा रहने यस कार्यक्रममा तिलोत्तमा नगरपालिका र अन्य केही नगरपालिकाबाट करिब ५०० प्रतियोगी विद्यार्थी तथा करिब २०० अवलोकनकर्ता विद्यार्थीहरूको सहभागिता रहनेछ। अवलोकन गर्ने विद्यार्थीहरूका माध्यमबाट अन्य विद्यालयहरूमा पनि आगामी वर्ष अझ प्रभावकारी रूपमा कार्यक्रम विस्तार गर्न सकिने विश्वास नगरपालिकाले लिएको छ।
क्वेस्ट नेपालका सल्लाहकार दीपक गौतम र केन्द्रीय सदस्य मिलन भण्डारीले सिद्धार्थ हब र तिलोत्तमा नगरपालिकाको सहकार्य विद्यार्थीको हितमा भएकोले यो कार्यक्रम दीर्घकालीन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
हबका सचिव क्षितिज पाण्डेका अनुसार कार्यक्रम बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। उक्त अवधिमा १२ वटा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। यस वर्षको आकर्षणका रूपमा थिममा आधारित प्यानल छलफल र विद्यार्थीहरूले आफैंले समस्या समाधान गरेको प्रमाणका रूपमा तयार पारेका करिब ५० वटा एस.क्यु.सी. केस स्टडी प्रस्तुत गरिनेछ।
त्यस्तै, सहकार्यमा आधारित ५ वटा प्रतिस्पर्धात्मक र ५ वटा गैर–प्रतिस्पर्धात्मक कार्यक्रमहरू रहनेछन्। प्रत्येक समूहमा ४ देखि १० जना सदस्य रहनेछन्, जसले आफूलाई अनुकूल लाग्ने कार्यक्रम छनोट गरी सहभागिता जनाउनेछन्।
यस कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो समस्या आफैं समाधान गर्ने, समूहमा मिलेर काम गर्ने, समन्वय गर्ने, अनुसन्धान गर्ने तथा २१औं शताब्दीका आवश्यक सामाजिक सीप र व्यक्तित्व विकास गर्ने क्षमताको वृद्धि गर्ने हबका कोअर्डिनेटर तथा मास्टर ट्रेनर प्रकाश चापागाईंले बताउनुभयो।
शान्ति नमूना माध्यमिक विद्यालयका एस.क्यु.सी. संयोजक गोमा थापा मगरले विद्यालयमा ऊर्जावान शिक्षकहरूको समूह भएकाले कार्यक्रम सहज र सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागिताको लागि प्रति विद्यार्थी रु. ८०० र विद्यालय दर्ता शुल्क रु. ३,००० रहनेछ। नगरपालिकाको आर्थिक सहयोगका अतिरिक्त अन्य व्यवस्थापन सम्बन्धी खर्च शान्ति नमूना माध्यमिक विद्यालयले बेहोर्नेछ।











