पुर्व बैंकर खड्का नर्सरी व्यवसायमा रमाउंदै

प्रकाशित मिति:

५० लाख लगानीमा शुरु भएको व्यवसायमा थप एक करोड लगानी गरी शंकरनगर चोकमा नयां विक्रि केन्द्र सञ्चालनमा ल्याइएको हो ।
बुटवल । पुर्व बैंकर तिलोत्तमा–१ जानकीनगरका भक्त खड्काको तीन वर्ष यताको दैनिकी फेरिएको छ । बैंकको वातानुकुलित कोठामा घुम्ने कुर्सीमा बसेर अरुलाई काम अह्राएर पुग्ने खड्काले सजिलो जागिरे जीवनलाई बीट मार्दै हरियाली प्रवद्र्धन र वातावरण संरक्षण संगै व्यवसाय पनि हुने ठहर गर्दै नर्सरी व्यवसायमा होमिएका छन् । एक दशक बेलायतमा समेत बसेका खड्काले व्यवसाय शुरु गर्नुअघि देखि नै घरको वरिपरि बोटबिरुवा रोपेर घरको वातावरणलाई हरियाली बनाउंदै आएका थिए । खासमा उनी विश्वभर बढ्दो तापक्रम, जलवायू परिवर्तनले मानव जीवनमा पार्ने असर जस्ता वातावरणसंग सम्बन्धित विषयमा गहिरो चासो र चिन्ता राख्थे । त्यसैले आफ्नो घर मात्र नभई समुदायलाई नै घर आंगन,करेसाबारी र कौसीमा विभिन्न जातका विरुवा रोपेर घरको सौन्दर्यीकरण र वातावरण संरक्षणमा पनि योगदान पुराउने उद्देश्यले खड्काले घरमै चेरिस नर्सरी स्थापना गरी आफ्नो शोखलाई व्यवसायमा बदले ।

सर्वत्र हरियाली विकास गरौं, वातावरण जोगाऔं र भावी सन्ततिलाई बाँच्न पाउने अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित उनले जानकीनगरमा करिब २ कठ्ठा जग्गामा शुरु गरेको नर्सरीमा उनले शो प्लान्ट, फलफुल लगायत ५०० प्रजातीका बिरुवाहरु उत्पादन र विक्रि शुरु गरिरहेको बताए । सिद्धार्थ केबलकारको बटम स्टेशनमा चेरिस नर्सरीले गरेको गार्डेनिङ लोकप्रिय भएपछि ग्राहकको चाप र बिरुवाको माग बढ्न थालेपछि शंकरनगर चोकमा शाखा विस्तार गरेको खड्का बताउंछन् ।नर्सरीसंग सम्बन्धित सबै सेवा संगै प्राविधिक परामर्श समेत दिने गरेको खड्काले बताए । खड्काले नर्सरी व्यवसायलाई प्रविधिसंग जोडेर आधुनिकरण गरी उद्योगमा रुपानन्तरण गर्न सकिने र प्रशस्त रोजगारी सिर्जना गरी अर्थतन्त्रमा योगदान दिन सकिने प्रचूर संभावना रहेको बताएचेरिस नर्सरीमा खड्का संगै उनकी पत्नी लिला थापा क्षेत्रीले समेत साथ दिएका छन् । ‘बैंकमा कुर्सीमा बसेर दिन बिताउने स्मार्ट जागिरे जीवन भन्दा माटो र बोट बिरुवासंग खेल्दै व्यवसायसंगै वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान गर्न पाउंदा नर्सरी ्व्यवसायमै आनन्द आएको छ’–खड्काले भने । चेरिस नर्सरीको नयाँ बिक्री केन्द्र शंकरनगर शाखाको एक समारोहका बिच परिवारकै जेष्ठ सदस्य देविराम थापा र तामकुमारी थापाले उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खांणले नर्सरीहरुले वातावरण संरक्षण, घर र नगरको सौन्दर्यीकरण, रोजगारी सिर्जना, आर्थिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने भन्दै नगरपाकिलाले नर्सरी व्यवसाय प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नर्सरीमा पाँच जना स्थायी र अन्य ज्यालादारी श्रमिकले गार्डेनिङमा काम गर्छन् । चेरिस नर्सरीमा १० रुपैयांदेखि १० हजार रुपैयांसम्मका विरुवा पाइने खड्काले जानकारी दिए । शंकरनगर शाखा उद्घाटनका अवसरमा मंसिर २० गतेसम्म विशेष छुट दिइएको उनले बताए ।