न्यू लाइफ मा.वि. द्वारा उत्कृष्ट खेलाडी सम्मान

प्रकाशित मिति:

मंसिर २५, नवलपरासी

बर्दघाट–४ मा अवस्थित न्यू लाइफ माध्यमिक विद्यालयले उत्कृष्ट खेल प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। बर्दघाट नगरपालिकास्तरिय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका हुन्।


विभिन्न खेल विधामा उत्कृष्टता प्रदर्शन गर्ने ५३ जना खेलाडी विद्यार्थी र खेल प्रशिक्षकहरूलाई विद्यालयले विशेष समारोहका बीच नगद, पदक तथा प्रमाणपत्र सहित सम्मान गरेको हो।


विद्यालयका प्रिन्सिपल सन्तोष अधिकारीका अनुसार, एथलेटिक्स, भलिबल, कबड्डी, खो–खो, आईटीएफ, कराते, उसु लगायतका विविधतापूर्ण खेल विधामा विद्यालयले प्रभावशाली प्रदर्शन गर्दै २१ स्वर्ण, ६ रजत र १२ कास्य गरी कुल ३९ पदक हात पार्न सफल भएको छ।


उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई विद्यालयले करिब १ लाख रुपैयाँसहित पदक र प्रमाणपत्र प्रदान गरिएको प्रिन्सिपल अधिकारीले बताउनु भयो । खेल प्रतिभाको विकास र प्रोत्साहनका लागि आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना समेत विद्यालयले अघि सारेको उनले जानकारी दिनु भयो ।


प्रतियोगितामा प्राप्त सफलताले विद्यालयको खेल क्षेत्रप्रतिको लगनशीलता, समर्पण तथा निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।