कजरिया टायल्स उद्योग बर्दघाटमा काम गर्ने दुई मजदुरको मृत्यु, उद्योग क्षेत्रमा तनाव

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
पुस १७ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ मा रहेको कजरिया टायल्स उद्योगमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ। गएराति टायल उत्पादनको क्रममा ग्यासी फायर क्षेत्रमा काम गरिरहेका मजदुरको मृत्यु भएको हो।


मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लाका ३० वर्षीय बिनोद कुमार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उद्योग व्यवस्थापनले मजदुरहरू सुतिरहेको अवस्थामा मृत्यु भएको दाबी गरे पनि स्थानीयवासी तथा मृतकका आफन्तले उद्योगको लापरवाहीका कारण घटना भएको आरोप लगाउँदै उद्योगविरुद्ध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण क्षेत्र तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको छ।


स्थानीयका अनुसार मजदुरको मृत्यु रातिमै भए पनि उद्योगले बिहान ढिलो गरी मात्र प्रहरी र मृतकका आफन्तलाई जानकारी गराएको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो।मृतकका आफन्तले रातिको समयमा आवश्यक सुरक्षासामग्री बिना नै मजदुरलाई ग्यासयुक्त क्षेत्रमा काममा लगाइएको, सास फेर्न गाह्रो भएको जानकारी गराउँदा पनि उद्धार नगरेको र घटना ढाकछोप गर्ने प्रयास गरिएको आरोप लगाएका छन्।


ग्यास प्रयोग हुने क्षेत्रमा काम गर्नुपरेकाले अक्सिजनको अभावका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको भए पनि यथार्थ कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकका आफन्तले हालसम्म शव पोस्टमार्टमका लागि लैजान अनुमति दिएका छैनन्। प्रहरीले फरेन्सिक परीक्षणका लागि शव बुटवल पठाउने तयारी गरिरहेको जनाएको छ। उद्योग निर्माणको क्रममा समेत सुरक्षा सावधानी नअपनाई काम लगाउँदा यसअघि करिब दश जना मजदुर घाइते भएको स्थानीयले बताएका छन्।