रास्वपा सुस्ताका उपसभापतिद्वारा पार्टी परित्याग

प्रकाशित मिति:

फाल्गुन ९ गते
नवलपरासी । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ। सुस्ता गाउँपालिका उपसभापति गुप्त सेन ठकुरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।


उनी रास्वपाका जिल्ला सभापति महेन्द्र सेन ठकुरीका दाइ हुन्। पार्टीको भनाइ र गराइबीच एकरुपता नभएको आरोप लगाउँदै ठकुरीले आफू अब स्वतन्त्र नागरिकका रूपमा रहने बताएका छन्।


नवलपरासी–१ मा कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका विक्रम खनालले उम्मेदवारी पाएपछि पार्टीभित्र असन्तुष्टि बढेको स्रोतले जनाएको छ। उक्त निर्णयप्रति असन्तुष्ट समूहले नेतृत्वप्रति असन्तोष व्यक्त गर्दै आएका थिए।


सोही असन्तुष्टिको परिणामस्वरूप क्षेत्र नम्बर १ अन्तर्गत बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजनले विज्ञप्ति जारी गर्दै पार्टीबाट राजीनामा दिएको घोषणा गरेका थिए।


जिल्लामा पछिल्लो समय देखिएको असन्तुष्टि र नेतृत्वप्रति उठेका प्रश्नले रास्वपाको संगठनात्मक अवस्था कमजोर बन्दै गएको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्। आगामी निर्वाचनको सन्दर्भमा यस्ता आन्तरिक विवादले पार्टीलाई चुनौती थप्ने देखिएको छ।