रूपन्देही । बुटवल सुख्खानगरमा अवस्थित अक्सफोर्ड कलेजमा बीएचएम पाँचौँ सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा चौथो मेगा फुड फेस्टिवल तथा लाइभ म्युजिकल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले सात वटा स्टलमार्फत पास्ता, बिर्यानी, चिकेन चिल्ली, वाफल लगायतका विभिन्न परिकारहरू तयार गरी प्रदर्शन तथा बिक्री गरेका थिए। उक्त कार्यक्रमले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप, उद्यमशीलता र बजारीकरणसम्बन्धी अनुभव हासिल गर्ने अवसर प्रदान गरेको छ।
“आफैँ बनाऊ, आफैँ कमाऊ” भन्ने अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेलेको छ। कलेजले समय–समयमा विद्यार्थीहरूको नेतृत्व क्षमता, सृजनशीलता र व्यावहारिक दक्षता अभिवृद्धि गर्न विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
BHM तथा BITM कार्यक्रमका कोर्डिनेटर ओमबहादुर खत्रीले अक्सफोर्ड कलेजका विद्यार्थीहरू सैद्धान्तिक र व्यवहारिक शिक्षामा सधैं उत्कृष्ट रहँदै आएको उल्लेख गर्दै शैक्षिक गतिविधिमा समेत उल्लेखनीय नतिजा हासिल गर्दै आएको जानकारी दिनुभयो।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. अजित खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनी, अक्सफोर्ड मावि सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारी, प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल लगायतले विद्यार्थीहरूलाई सक्षम, आत्मनिर्भर र उत्कृष्ट नागरिक बनाउन विविध सीप तथा ज्ञानको समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन BITM र BBA का विद्यार्थी कृर्ति सुवेदी तथा दिव्या बन्जाडेले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।
सोही अवसरमा कलेज परिसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो। स्वास्थ्य शिविरअन्तर्गत दन्त उपचार, नाक–कान–घाँटी परीक्षण, रक्त समूह तथा रगतमा चिनी परीक्षण लगायतका सेवा प्रदान गरिएको थियो। नाक–कान–घाँटी रोग विशेषज्ञ डा. सुमन पौडेल तथा दन्त तथा मुखरोग विशेषज्ञ डा. विनोद थापाद्वारा विद्यार्थी, प्राध्यापक तथा अभिभावकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।
रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग तथा नेपाल नियमित रक्तदाता समाजसँगको सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको क्याम्पस प्रमुख मनोज मरासिनीले जानकारी दिनुभयो।













