बैंकर्स क्लब वालिङको आयोजनामा ग्लोबल मनी वीक अन्तर्गत प्रभातफेरि तथा कोणसभा कार्यक्रम सम्पन्न गर्दै बैंक तथा बीमा क्षेत्रमा आबद्ध कर्मचारीहरूले समुदाय स्तरमै वित्तीय शिक्षाको आवश्यकता उजागर गरेका हुन् । पतञ्जली योगपिठबाट सुरु भएको प्रभातफेरि बजार परिक्रमा गर्दै मुक्तिनाथ विकास बैंक अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । सहभागीहरूले “पैसा बचत गरौँ”, “आम्दानी अनुसार खर्च गरौँ” जस्ता सन्देश बोकेका प्लेकार्ड मार्फत सर्वसाधारणलाई जिम्मेवार आर्थिक व्यवहारतर्फ प्रेरित गरेका थिए । उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकका संस्थापक कार्यकारी प्रमुख तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले ग्लोबल मनी वीकले वित्तीय साक्षरता विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता अभियानले बचत, लगानी र आर्थिक अनुशासनबारे सकारात्मक सोच विकास गराउने धारणा राख्नुभयो ।
त्यसैगरी शिखर इन्स्योरेन्स कम्पनी वालिङ शाखाका प्रमुख शंकर सुवेदीले बीमा नागरिकको आर्थिक सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसबारे अझ व्यापक जनचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो ।“Smart Money Talks” भन्ने नाराका साथ नेपाल राष्ट्र बैंक को संयोजनमा चैत २ देखि ८ गतेसम्म मनाइँदै आएको ग्लोबल मनी विक विश्वव्यापी अभियान हो ।वालिङमा आयोजित यस्ता कार्यक्रमहरूले वित्तीय साक्षरताको सन्देश गाउँ सहरसम्म पुर्याउँदै आर्थिक रूपमा सचेत समाज निर्माण तर्फ एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।
बैंकर्स क्लब वालिङका अध्यक्ष नविन काफ्लेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।












