लिस्बन, १५ चैत । चर्चित गायिका मेलिना राईले युरोपेली मुलुक पोर्चुगलमा सांगीतिक प्रस्तुति दिने भएकी छन्।
नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर यही अप्रिल ६ तारिख सोमबारका दिन राजधानी लिस्बनमा गायिका राईले सांगीतिक प्रस्तुति दिने भएकी हुन्। लिस्बनस्थित ‘बराइरो ल्याटिनो, सान्तोष’ मा हुने भव्य कन्सर्टमा राईले आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको आयोजक संस्थाले जनाएको छ। गुरुङ केएनएस ईन्टरटेन्मेन्ट, केन्द्र मोशन पिक्चर्स र नेप्स इन्टरटेन्मेन्टको संयुक्त संयोजनमा कन्सर्टको आयोजना गरिएको हो।
प्रवासमा नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप नेपाली नयाँ वर्षको अवसर पारेर वृहत् सांगीतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा सहभागी हुन चाहने संगीतप्रेमीहरुका लागि टिकट दर १५ युरो, ३० युरो र विशेष सुविधासहित २५० युरो निर्धारण गरिएको छ। कार्यक्रममा सहभागी भई सांगीतिक कार्यक्रमलाई सफल बनाउन आयोजक संस्थाले पोर्चुगलवासी नेपाली समुदायलाई विशेष आग्रह समेत गरेको छ।
गायिका राईले पोर्चुगलसहित ग्रिस, स्वीडेन, बेल्जियम, माल्टा, फ्रान्स, स्पेन, डेनमार्क, क्रोएसिया लगायतका मुलुकहरुमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको बताइएको छ।












