रूपन्देही सुपरलिगः नेपथ्य ज्ञानोदयको जित

प्रकाशित मिति:

भैरहवा, चैत्र २१ ।नेपथ्य ज्ञानोदय क्रिकेट क्लबले भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शनिबारको खेलमा जित निकालेको हो । उसले शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै जित हात पारेको हो ।भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको शंकरनगरले ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन बनायो । उसका लागि रोशन पाण्डेले ३८ र शुभम क्षेत्रीले २१ रन बनाए । बलिङमा नेपथ्य ज्ञानोदयका प्रवेश सारुले १० ओभरमा २९ रन खर्चेर ७ विकेट हात पारे । यस्तै, जय गोदारले २ र विपिन न्यौपानेले १ विकेट लिए ।जवाफी ब्याटिङ गरेको नेपथ्य ज्ञानोदयले ३३ ओभर ५ बलमा ७ विकेट गुमाएर १ सय ११ रन बनाउँदै जित निकाल्यो । उसको जितमा जय गोदारले अविजित ३५, नितेश ठाकुरले नटआउट १७ र युवराज सेनले १५ रनको योगदान गरे । बलिङका शंकरनगरका शिशिर लुईंटेलले ४ विकेट लिए । खेलमा प्रवेश सारु प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाणिज्य संघले प्रायोजन गरेको छन् ।यस्तै, म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रविकुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।