पश्चिम नवलपरासीकै सर्वाधिक पुरस्कार राशीको सुर्यनगर गोल्डकप भोलिदेखि सुरु हुँदै
प्रकाश न्यौपाने
चैत्र २६ गते
नवलपरासी। दशौँ संस्करणको सुर्यनगर गोल्डकपको तयारी पूरा भएको छ। चैत्र २७ गतेबाट सुरु हुने पश्चिम नवलपरासीकै सर्वाधिक पुरस्कार राशीको गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
गोल्डकप सञ्चालनका लागि बर्दघाट नगरपालिकाले बजेट किताबमै १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। नव युवा क्लब बर्दघाट–१६ को आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा गोल्डकप सञ्चालन हुँदै आएको छ।
गत वर्षको तुलनामा यसपटक आम दर्शकका लागि टिकट दर घटाइएको आयोजकले जनाएको छ। वडा नम्बर १६ का अध्यक्ष एवं फुटबल संघ लुम्बिनी प्रदेशका महासचिव भिमकाजी गुरुङका अनुसार बहुप्रतीक्षित गोल्डकपका लागि दैनिक टिकट दर रु ५०, सेमिफाइनल टिकट दर रु १०० र फाइनल खेलको टिकट दर रु २०० कायम गरिएको छ।
प्रथम हुने टिमले नगद रु ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र द्वितीय हुने टिमले रु ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। गोल्डकप अवधिभर विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूले नगद पुरस्कार, मेडल र प्रमाणपत्रसमेत प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धनसिंह चितौरेले बताउनुभयो।
प्रतियोगिता सञ्चालनका लागि विभिन्न संघ–संस्था र सहयोगी दाताबाट सहयोग संकलनको काम भइरहेको आर्थिक संयोजक प्रदीप अधिकारीले बताए। सुर्यनगर गोल्डकप समग्र बर्दघाट नगरपालिका र जिल्लाकै चिनारीसँग जोडिएको वडा अध्यक्ष भिमकाजी गुरुङले उल्लेख गर्नुभयो।
सुर्यनगर गोल्डकपका लागि बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख धिरज शर्मा बस्यालको कार्यकालमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरी गोल्डकपको संरक्षकत्वको सुरुवात गरिएकोमा हाल नगरपालिकाले बजेटमा वृद्धि गर्दै १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। खेल सञ्चालनका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक प्रदीप अधिकारीले बताउनुभयो।
भोलि हुने उद्घाटन सत्रको खेल हर्दी युवा समाज, चितवन र हेटौंडा एकेडेमी, मकवानपुरबीच हुने खेल संयोजक मीन गुरुङले जानकारी दिनुभयो। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ।
सुर्यनगर गोल्डकप यस क्षेत्रकै चर्चित फुटबल प्रतियोगिता हो। खेल अवलोकनका लागि हजारौँ दर्शकको उपस्थिति रहने गर्दछ। प्रतियोगिताको समापन बैशाख ५ गते हुने जनाइएको छ।












