श्याम बुचा- पश्चिम नवलपरासीमा स्थानीय विवादको कारणले गर्दा प्रहरीको दुई गाडी तोडफोड भएको छ ।जिल्लाको प्रतापपुर गाउँपालिका वडा न ४ हरकपुरामा पुरानो विवादका कारण भएको कुटपिटमा संलग्न ब्यक्तिलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै हमला गरि दुई वटा प्रहरीको गाडी भिडमा रहेका ब्यक्तिहरुले तोडफोड पनि गरेका हुन् । तोडफोड भएको गाडी मध्येमा एक वटा गाडी नेपाल प्रहरी र एक सशस्त्र प्रहरीको गरि दुई वटा गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिएका छन् ।
उनका अनुसार आज बिहिवारको दिन दिउँसो एक बजेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–४ हरकपुरामा पुरानो रिसिबीलाई लिएर २० वर्षीय उमेश केवटमाथि कुटपिट भएको थियो । उक्त घटनामा १७ को अब्दुल अन्सारी र १७ वर्षकै आजात अन्सारी संलग्न रहेको प्रहरीमा सूचना प्राप्त भएको थियो ।सोही सूचनापछि प्रहरी टोली उनीहरूलाई पक्राउ गर्न पुगेको थियो । सो क्रममा प्रहरीले ती दुई जना सहित घटनामा संलग्न अर्को ४३ वर्षीय सलामुदिन मियाँलाई पनि पक्राउ गरेको थियो ।प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि करिब २०० जना मानिसहरु भेला भई प्रहरीको गाडी माथी ढुङ्गा मुडा प्रहार गरि गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ भने पक्राउ परेका ब्यक्ति प्रहरीको हिरासतमा रहेको सूचना अधिकारी पन्तले बताएका छन












