बसन्तपुरमा विशाल बुद्ध मुर्ति र ध्यान केन्द्र बनाउने सम्झौता

प्रकाशित मिति:

बैशाख, बुटवल । थे हुएन् दिउ (टिएचटी) पीस फाउण्डेसन जर्मनीले लुम्बिनी केबलकारको माथिल्लो स्टेशन पाल्पाको बसन्तपुरमा विशाल बुद्धि मुर्ति सहितको ध्यान केन्द्र निर्माण गर्ने भएको छ ।भियतनामी वरिष्ठ बौद्ध गुरु भिक्षु थे हुएन् दिउ (डा. लाम) अध्यक्ष रहेको पीस फाउण्डेसन र लुम्बिनी केबलकार लि. बुटवलबीच ध्यान केन्द्र निर्माण गर्ने सम्झौता भएको हो ।सम्झौता अनुसार पीस फाउण्डेसनले शुरुमा केबलकारको तल्लो स्टेशनमा १२ फिट उचाईको बुद्ध मुर्ति स्थापना गर्ने छ भने त्यसपछि माथिल्लो स्टेशन बसन्तपुरमा प्रार्थना र ध्यान घर (मेडिटेसन सेन्टर) निर्माण र विशाल बुद्ध मुर्ति राख्ने उल्लेख छ ।फाउण्डेसनका अध्यक्ष डा. लामले बुद्ध जन्मस्थल लुम्बिनीमा घुम्न आएका बेला बसन्तपुर पुग्दा त्यहांको शान्त र हरियालीयुक्त मनोरम वातावरणबाट प्रभावित भएर प्रार्थना तथा ध्यान केन्द्र सहितको विशाल बुद्ध मुर्ति स्थापना गर्ने निर्णय गरेको बताए ।सम्झौतापछि डा. लाम र उनका शिष्य केनिथ दाव सहितको टोलीले बसन्तपुरको स्थलगत अवलोकन गरेको छ । अवलोकनपछि डा. लामले एक वर्ष भित्र तल्लो स्टेशनमा बुद्ध मुर्ति स्थापना गरिसक्ने र लगत्तै प्रार्थना तथा ध्यान केन्द्रको काम शुरु गर्ने प्रतिवद्धता जनाए ।

‘बसन्तपुर वर्षेनी लाखौं पर्यटक आउने पर्यटकीय गन्तव्य हो, यहां आउने पर्यटकलाई शान्तिको मार्गमा हिंड्न प्रेरित गर्न विशाल बुद्ध मुर्ति र प्रार्थना केन्द्र बनाउने निर्णय गरेका हौं’–डा. लामले भने–‘बुद्धका उपदेश र ज्ञान बांडेर मात्र विश्वमा दीगो शान्ति कायम गर्न सकिन्छ ।’
पीस फाउण्डेसनसंगको सहकार्यले बसन्तपुर अझ उत्कृष्ट पर्यटकीय गन्तव्य संगै बौद्धमार्गीहरुको समेत आकर्षणको थलो बन्ने लुम्बिनी केबलकारका स्टेशन म्यानेजर डिल्लीनारायण कायस्थले बताए ।प्रार्थना तथा ध्यान केन्द्र र दुई बुद्ध मुर्ति स्थापना गर्दा वातावरणीय असर नपर्ने गरी बनाइने र सम्पूर्ण लागत पीस फाउण्डेसनको हुने उनले बताए । समुन्द्री सतहबाट करिब एकहजार मिटर उचाईमा रहेको बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुंरा, सेमिनार हल लगायत पर्यटकीय संरचना छन् ।केबलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको कम्पनीले जनाएको छ ।