नवलपरासीका एमाले जिल्ला सचिब धीरज शर्माद्रारा पार्टी परित्यागको घोषणा

प्रकाशित मिति:

प्रकाश न्यौपाने
वैशाख ३१ गते
नवलपरासी । नेकपा (एमाले) नवलपरासी (पश्चिम) का जिल्ला सचिव तथा पूर्व बर्दघाट नगरप्रमुख धीरज शर्मा बस्याल ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनु भएको छ । उहाँले पार्टी परित्याग गरेसङ्गै जिल्लाको राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। उहाँ अब कुन राजनीतिक दलमा आबद्ध हुनुहुन्छ भन्ने विषयलाई लिएर विभिन्न अड्कलबाजी हुन थालेका छन्। विशेषगरी उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्न सक्ने चर्चा तीव्र बनेको छ।


२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट बर्दघाट नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएका शर्मा २०७९ सालको निर्वाचनमा भने पराजित हुनुभएको थियो। लामो समयदेखि एमाले राजनीतिमा सक्रिय रहनुभएका शर्माले वर्तमान परिस्थितिमा आफ्नो आत्मसम्मान, वैचारिक निष्ठा तथा राजनीतिक मूल्य–मान्यतालाई जोगाउँदै अघि बढ्न पार्टी सदस्यता त्याग गर्नु उपयुक्त ठानेको उल्लेख गर्दै राजीनामा बुझाउनुभएको हो।


उहाँले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको, इमान्दार कार्यकर्ताको योगदानको उचित मूल्याङ्कन हुन नसकेको तथा राजनीतिक संस्कारमा विचलन आएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। राजीनामा पत्रमा पार्टी नेतृत्वप्रति असहमति जनाउँदै आफूले वैचारिक स्वतन्त्रता र राजनीतिक नैतिकतालाई प्राथमिकता दिएको उल्लेख गरिएको छ।


पार्टी परित्याग गरेको घोषणा गर्नु भयो अब राजनीति गर्नु हुन्छ कि हुदैन भन्ने प्रश्नमा शर्मा भन्नु हुन्छ -” एमाले पार्टी छाडे चौरतर्फी ढोका खुलेको छ । आम नागरिकको चाहाना अनुसार अघि बढ्छु ।”