गलकोटमा वर्षासहितको हावाहुरीका कारण घररगोठमा क्षती

प्रकाशित मिति:

सुरेश छन्त्याल- गएराती आएको तीव्र गतिको हावाहुरी र भारी वर्षाका कारण गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानी तथा आसपासका क्षेत्रमा व्यापक भौतिक तथा कृषि क्षेत्रमा क्षति पुगेको छ। प्रारम्भिक विवरण अनुसार यस प्राकृतिक विपत्तिबाट सो वडामा मात्रै करिब ५० देखि ५५ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ। वडा अध्यक्ष भक्तबहादुर काउचाका अनुसार हावाहुरीले पाण्डवखानी क्षेत्रका करिब ५० देखि ५१ वटा साना तथा ठूला घर र गोठका छाना उडाउनुका साथै सरकारी भवनहरूमा समेत क्षति पुर्‍याएको छ।भौतिक संरचनाका अतिरिक्त स्थानीय पूर्वाधारहरूमा पनि ठूलो धक्का लागेको छ । विद्युत तथा सञ्चारस् केन्द्रीय प्रसारण लाइनका विद्युत पोलहरू ढलेका छन्। इन्टरनेटका तार र सञ्चार टावरहरूमा क्षति पुग्दा स्थानीय सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।हावाहुरी र वर्षाका कारण स्थानीय मोटरबाटोका विभिन्न खण्डहरू समेत प्रभावित भएका छन्। विपत्तिले पाण्डवखानी र विशेष गरी रमुवा क्षेत्रका किसानहरूलाई ठूलो आर्थिक संकटमा पारेको छ। रमुवा टोल सुधार समितिका संयोजक उदिम घर्तीका अनुसार उत्पादनको अन्तिम तयारीमा रहेको आलू खेतीमा ठूलो परिमाणमा क्षति पुगेको छ। यसका साथै कृषकहरूको मुख्य बालिको रूपमा रहेको मकै बाली र सिमी खेती समेत हावाहुरीले पूर्ण रूपमा नष्ट गरिदिएको छ।

घटना लगत्तै आज बिहानैदेखि प्रभावित क्षेत्रमा पुगेर स्थानीय जनप्रतिनिधि तथा सामाजिक अगुवाहरूको टोलीले स्थलगत अनुगमन सुरु गरेको छ। वडा अध्यक्ष भक्तबहादुर काउचा, नगरकार्यपालिका सदस्य रामप्रसाद वि।क, घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका अध्यक्ष दीप घर्ती, र घुम्टे खकरका कार्यकारी सम्पादक सुरेश छन्त्याल लगायतको संयुक्त टोली प्रत्येक प्रभावित घरगोठमा पुगेर क्षतिको यकिन विवरण संकलन गरिरहेको छ। टोलीले पीडित परिवारहरूलाई तत्कालै राहत उपलब्ध गराउनका लागि नगरपालिकामार्फत आवश्यक पहल तत्कालै अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।