हिमांशु डिजाइनर रनवे सिजन ६ भब्यरुपमा सम्पन्न, कल्पना सुवेदी बनिन् विजेता

प्रकाशित मिति:

बुटवल । नेपाली कला, संस्कृति र आधुनिक फेसनको आकर्षक संगमका रूपमा द हिमांशुज डिजाइनर रनवे सिजन–६ भब्यरुपमा सम्पन्न भएको छ । हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरले पांचतारे होटेल हायातमा गरेको भब्य कार्यक्रममा नेपाली मौलिक पहिचान, सिर्जनात्मक फेसनका डिजाइनरहरूको प्रतिभा एकै मञ्चमा देखिएको थियो । कार्यक्रमको ‘कल्चर राउन्ड’ मा प्रस्तुत फेशन विशेष आकर्षण बनेको थियो ।

नेपालका विभिन्न जातजातिको पहिचान झल्किने पोशाकमा मोडेलहरू क्याटवाक गर्दै र्याम्पमा उत्रिएका थिए ।मगर, गुरुङ, थारु, नेवारीदेखि विभिन्न जाती र समुदायका सांस्कृतिक पहिरनले नेपाली समाजको परम्परा, रितिरिवाज र बहुसांस्कृतिक विविधतालाई डिजाइनर रन वे कार्यक्रमले जीवन्त रूपमा प्रस्तुत गरेको थियो ।पुरानो संस्कृतिमा आधुनिक डिजाइनको समिश्रण गरेर तयार गरिएका पहिरन हरुले फेशनपारखी दर्शकको मन जितेको थियो ।कार्यक्रममा हिमांशु बुटिकका १२ जना डिजाइनरले तयार पारेका नयाँ तथा सिर्जनात्मक फेसन दुई दर्जन मोडेलहरुमार्फत प्रदर्शन गरिएको थियो ।मोडेलहरुले कल्चर राउण्ड, ब्राइडल राउन्ड, पार्टी वेयर राउण्ड र बेबी राउण्डमा डिजाइनरहरुले विभिन्न थिममा तयार गरेका पहिरन प्रदर्शन गर्दा त्यसले नेपाली फेसन क्षेत्रमा राम्रो सम्भावना रहेको सन्देश दिएको थियो ।कार्यक्रममा उपस्थित फेसन पारखी दर्शकहरू डिजाइनरले तयार गरेका आकर्षक र नयां नयां पहिरनको फोटो र भिडियो लिन व्यस्त देखिन्थे ।

कार्यक्रममा सहभागी दर्शकहरुले बुटवलमा उच्च स्तरको डिजाइनर रन वे कार्यक्रमले फेशनप्रति आम नागरिकको बुझाई सकारात्मक बनाउने र नेपाली भेषभूषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने बताएका छन् ।कार्यक्रममा तालिम पूरा गरी ग्राजुएट भएका डिजाइनरहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै १२ जनालाई ‘स्टुडेन्ट अफ द मन्थ’ अवार्ड प्रदान गरिएको थियो ।
प्रतियोगितामा कल्पना सुवेदी प्रथम भएकी छन् भने आशा पुन बुढाथोकी दोस्रो तथा दिव्या बलाल तेस्रो भएकी छन् । यस्तै ‘मल्टिमिडिया विनर’ को उपाधि दिव्या बलालले प्राप्त गरिन् भने ‘भ्यूअर्स च्वाइस विनर’ अवार्ड कल्पना सुवेदी र ‘पिपुल्स च्वाइस विनर’ आशा पुन बुढाथोकी घोषित भए ।कार्यक्रममा फेशन डिजाइनरहरू बिनिता राना, धनमती सुनार, यानुका सारु, सिमरन श्रेष्ठ, सर्मिला बमरेल, मनिषा घर्ती मगर, आशा पुन, आरती कर्ण, सुष्मा गुरुङ र सिर्जना गुरुङले पनि उत्कृष्ट डिजाइन प्रस्तुत गरेका थिए ।प्रशिक्षार्थी फेसन डिजाइनरहरुको कला र क्षमताको प्रोत्साहनका लागि हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरले हरेक वर्ष डिजाइनर रनवे प्रतियोगिता गर्दै आएको संस्थाकी अध्यक्ष हिरा पेग्नी मगरले बताइन् ।यस्तो कार्यक्रमले नयाँ तथा उदाउँदा डिजाइनरलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उनको भनाई छ ।
कार्यक्रममा डा. तारा प्रसाद गिरीले यस्ता कार्यक्रमले फेसन डिजाइन व्यवसाय र विद्यार्थीको सिर्जनशीलतालाई प्रवद्र्धन गर्ने बताए । कवि यज्ञलाल सुवेदीले कविता वाचनमार्फत हिमांशु बुटिकले फेसन डिजाइनको क्षेत्रमा गरेको योगदानको सराहना गरेका थिए । कार्यक्रम सञ्चालन रेशम न्यौपानेले गरेकी थिइन् ।