बर्दघाट खानेपानीद्वारा वृक्षारोपण गर्दै सप्ताहव्यापी सरसफाइ अभियान आरम्भ

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेष्ठ २२ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले ५४ औँ विश्व वातावरण दिवस तथा २७ औँ राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बर्दघाट–४ स्थित डाँडाटोल सामुदायिक भवन परिसरमा फलफूलका बिरुवा रोपेर सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ।


संस्थाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रम अन्तर्गत पहिलो दिन डाँडाटोल क्षेत्रमा विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू रोपिएको संस्थाका अध्यक्ष दीपक लम्सालले जानकारी दिनुभयो। उहाँले वातावरणीय सन्तुलन कायम राख्न, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तथा आगामी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न वृक्षारोपण अभियानलाई प्राथमिकता दिइएको बताउनुभयो।


कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बढ्दो सहरीकरण, वन विनाश तथा जलवायु परिवर्तनका कारण वातावरणीय चुनौती बढ्दै गएको उल्लेख गर्दै यस्ता अभियानलाई टोल–टोलसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले स्वच्छ र हराभरा नगर निर्माणमा स्थानीय संघसंस्था, उपभोक्ता समिति तथा नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। नगर प्रमुख श्रेष्ठले वातावरण संरक्षण र सरसफाइ अभियानमा बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा समेत गर्नुभयो।


बर्दघाट नगरपालिकाका निवर्तमान नगर प्रमुख धीरज शर्मा बस्यालले विगतदेखि सञ्चालन हुँदै आएका सकारात्मक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै रुख रोप्ने, संरक्षण गर्ने तथा सरसफाइलाई जीवनशैलीको हिस्सा बनाउन आग्रह गर्नुभयो।


संस्थाका अध्यक्ष दीपक लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष कमल थापा, बर्दघाट नगरका उपप्रमुख रुद्रप्रकाश उपाध्याय, बर्दघाट–४ का वडाध्यक्ष वेदविना तिवारी, संस्थाका सल्लाहकार रविन्द्र विक्रम हमाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै स्वच्छ वातावरण, सुरक्षित खानेपानी तथा मुहान संरक्षणका लागि वृक्षारोपणको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। वक्ताहरूले पानीका स्रोत संरक्षण, भूक्षय नियन्त्रण तथा वातावरणीय सन्तुलन कायम गर्न रुख बिरुवाको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नु भएको थियो ।


वृक्षारोपण कार्यक्रममा स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह, स्थानीय बासिन्दा, संस्थाको कार्यसमिति, लेखा समिति, खानेपानी सुरक्षा योजना टोली, सरसफाइ समिति तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा बिरुवा रोप्दै हरियाली विस्तार र वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।


बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले विश्व वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा आगामी दिनहरूमा सरसफाइ, वातावरण संरक्षण, जनचेतना अभिवृद्धि तथा सामुदायिक सहभागितामूलक विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाएको छ। संस्थाका अनुसार सप्ताहव्यापी अभियानले वातावरणीय संरक्षणप्रति स्थानीय समुदायको जिम्मेवारीबोध बढाउनुका साथै स्वच्छ, हराभरा र स्वस्थ बर्दघाट निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।