अधिकारको विषयमा सैनामैनामा, यसरी गरियो सचेतना अभिवृद्धि

प्रकाशित मिति:

असार ४, रुपन्देही।  “हामी धेरै छौं, तर निर्णय थोरैको हातमा छ । अधिकार त छ, तर त्यसको प्रयोग गर्न सक्ने अवस्था छैन ।” मानव अधिकार सचेतना तालिममा सहभागीहरूको यो भनाइले सैनामैना नगरपालिकामा आयोजित कार्यक्रमको मूल सन्देशलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।
महिला, युवा तथा सीमान्तकृत समुदायका नागरिकहरूलाई आफ्ना अधिकारबारे जानकारी गराउँदै लोकतान्त्रिक सहभागिता सुदृढ गर्ने उद्देश्यले आयोजित मानव अधिकार सचेतना तालिमले सहभागीहरूमा नयाँ आत्मविश्वास र जागरणको अनुभूति गराएको छ ।

समावेशी लोकतन्त्र र मानव अधिकारका लागि नागरिक समाज सुदृढीकरण (सामा–सामा) परियोजना अन्तर्गत सञ्चालित उक्त तालिम सैनामैना नगरपालिका वडा नं. १० का वडा सदस्य रेनुका रुचालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले मानव अधिकारको सुनिश्चितता बिना समृद्ध, समावेशी र न्यायपूर्ण समाज निर्माण सम्भव नहुने बताउनुभयो । उहाँले महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिताले मात्र स्थानीय लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सेसीका अनुगमन तथा मूल्यांकन विज्ञ रेनुका पौडेल, लैङ्गिक तथा मानव अधिकार विज्ञ विन्दु शर्मा, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरे, निवर्तमान अध्यक्ष एवं अनुगमन समितिका संयोजक सूर्यकुमारी शाही तथा परियोजनाका प्रदेश संयोजक कमला शुक्ला लगायतले मानव अधिकार, संविधान प्रदत्त मौलिक अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय तथा नागरिक सहभागिताका विषयमा धरणा राख्नुभएको थियो । भने, कार्यक्रमको सहजीकरण कमल सिंह थारुले गर्नुभएको थियो ।

अधिकारका कुरा कक्षा भित्र मात्रै सीमित छैनन्
त्यसैगरी, तालिममा सहभागीहरूले मानव अधिकारलाई केवल कानुनी विषय नभई दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषयका रूपमा बुझेका थिए । सहभागी एकता आमा समूहका अध्यक्ष फुलमती चौधरीले “अधिकारका विषयमा जति बुझ्दै गयो, त्यति नै यसको महत्व र जिम्मेवारी महसुस हुँदै गयो,” भन्दै तालिमपछि समुदायमा सचेतना फैलाउने जिम्मेवारी बढेको बताउनुभयो ।

त्यस्तै झिमझिमिया भुल्के पानी सामुदायिक वनका सचिव तारा रास्कोटीले मानव अधिकार केवल सरकारी निकायको विषय नभई प्रत्येक नागरिकको सरोकारको विषय भएको उल्लेख गर्नुभयो । उहाँले समुदायमा हुने विभेद, हिंसा तथा अन्यायका घटनाविरुद्ध सक्रिय रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै वडघार समितिका नगर अध्यक्ष मिना थारुले सीमान्तकृत समुदायका महिलाहरू अझै पनि निर्णय प्रक्रियाबाट टाढा रहेको उल्लेख गर्दै यस्ता तालिमले नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा अधिकारप्रति जागरण ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।


कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना तथा सैनामैना नगरपालिका वडा नं. १० को समन्वयमा बुधबार सैनामैना वडा १० को द रिस्टोरो ४०० सिएलमा सम्पन्न भएको थियो । कार्यक्रम सेन्टर फर इन्टरनेशनल स्टडिज एण्ड कोअपरेसन (सेसी ) को आर्थिक सहयोग तथा प्रो–पब्लिकको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ । उक्त परियोजना रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउँपालिका, कपिलवस्तुको बाणगंगा नगरपालिका र शुद्धोधन गाउँपालिका तथा नवलपरासीको बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा कार्यान्वयन भइरहेको छ ।