१५ असार । आज २३औँ राष्ट्रिय धान दिवस । सरकारले यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ देशभर विविध कार्यक्रम आयोजना गरी धान दिवस मनाइरहेको छ । कृषिप्रधान नेपालको अर्थतन्त्रमा धान खेतीको योगदानलाई सम्मान गर्दै किसानको श्रम, कृषि उत्पादन र खाद्य सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।
यस दिन देशभरका किसान खेतमा धान रोप्दै असारे भाका गाउने, हिलोमा रमाउने र सामूहिक रूपमा रोपाइँ गर्ने परम्परा छ ।
दिनभरको श्रमपछि दही चिउरा खाने चलनका कारण असार १५ लाई दही चिउरा खाने पर्वका रूपमा पनि चिनिन्छ । खेतमा काम गर्दा शरीरलाई शीतलता र ऊर्जा मिल्ने विश्वासका कारण दही चिउरा खाने परम्परा पुस्तौंदेखि कायम रहँदै आएको छ ।
नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ । नयाँ काममा निस्कँदा, यात्रा गर्दा वा विशेष अवसरमा दही सगुनका रूपमा खाने र दही अक्षता लगाउने चलन अझै पनि प्रचलित छ । स्वास्थ्यका दृष्टिले पनि दही पाचन प्रणालीका लागि लाभदायक मानिन्छ भने आयुर्वेदमा दहीबाट बनाइने मोहीलाई स्वास्थ्यवर्द्धक पेयका रूपमा उल्लेख गरिएको छ ।
नेपालमा राष्ट्रिय धान दिवस २०६२ सालदेखि औपचारिक रूपमा मनाउन थालिएको हो । २०६१ मङ्सिर २९ गतेको मन्त्री स्तरीय निर्णयअनुसार यसको सुरुआत गरिएको थियो । धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आएको छ ।
यस वर्ष भने मनसुन सक्रिय हुन ढिलाइ हुँदा असारको मध्य सम्म पनि धेरै स्थानमा अपेक्षा अनुसार धान रोपाइँ हुन सकेको छैन । कतिपय क्षेत्रमा पर्याप्त वर्षा नहुँदा किसान सिँचाइको भरमा रोपाइँ गरिरहेका छन् भने केही स्थानमा रासायनिक मलको अभाव बारे पनि गुनासो सुनिएको छ। यद्यपि सम्बन्धित निकायले आवश्यक मात्रामा मल मौज्दात रहेको जनाएको छ ।
सरकारले यस वर्षको नारामार्फत जलवायु परिवर्तनका चुनौतीलाई ध्यानमा राख्दै जलवायुमैत्री कृषि प्रविधिको विस्तार, धान उत्पादनमा आत्मनिर्भरता र कृषि क्षेत्रमार्फत समृद्धि हासिल गर्ने लक्ष्यलाई प्राथमिकतामा राखेको जनाएको छ । धान दिवसले कृषि उत्पादन वृद्धि, किसानको सम्मान र नेपाली मौलिक संस्कृति संरक्षणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।














