एसएलसीमा होराइजन जिविएसको गौरवशाली सफलता, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

प्रकाशित मिति:

बुटवल । तिलोत्तमा–१, ड्राइभरटोलस्थित होराइजन जिविएस स्कुलले कक्षा १२ (एसएलसी) परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा उनीहरूको सफलतामा योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गर्दै बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजू श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, बुटवलका शाखा अधिकृत कमलप्रसाद अर्याल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सुरुवात विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन उपप्राचार्य इन्द्रप्रसाद भुसालले गर्नुभएको थियो।

विज्ञान संकायतर्फ कृष्टी जैसवाल र मयंक भुसालले ३.९६ जिपिए सहित प्रथम, प्रिया गुप्ता बनियाँले ३.९५ जिपिए सहित द्वितीय तथा समृद्धि पाण्डेयले ३.९४ जिपिए सहित तृतीय स्थान हासिल गरेका थिए। ३.९० वा सोभन्दा माथि जिपिए प्राप्त गर्ने आठ जना मेधावी विद्यार्थीलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।व्यवस्थापन संकायतर्फ ओम बरालले ३.८६ जिपिए, वर्षा न्यौपानेले ३.८२ जिपिए र कृतिक पाण्डेयले ३.७८ जिपिए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका थिए। साथै ३.६० वा सोभन्दा माथि जिपिए ल्याई उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।विद्यालयको उत्कृष्ट नतिजामा योगदान पुर्‍याउने मार्केटिङ तथा कम्प्युटर साइन्स विषयका शिक्षकहरू केशव खनाल, माधव अर्याल, अर्जुन अर्याल, दीपेन्द्र सापकोटा तथा विजय पराजुलीलाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो।

कार्यक्रममा न्यु होराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्याय, न्यु होराइजन इ.बो.मा.वि.का प्राचार्य बासुदेव अर्याल, बुटवल मोडेल कलेजका प्राचार्य डा. नेत्रप्रसाद बस्याल तथा क्षितिज इन्टरनेशनल कलेजका प्राचार्य सूर्यबहादुर रानालगायतले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।प्रमुख अतिथि कमलप्रसाद अर्यालले विद्यार्थीहरूको सफलता शिक्षक, अभिभावक र विद्यालय परिवारको सामूहिक मेहनतको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजू श्रेष्ठले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई दिँदै विद्यालयको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य गोपालप्रसाद आचार्यले विद्यालयको उत्कृष्ट नतिजा विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पित शिक्षण र अभिभावकहरूको निरन्तर साथ–सहयोगको संयुक्त प्रतिफल भएको बताउनुभयो। उहाँले विद्यालयले केवल उच्च जिपिए दिलाउने उद्देश्य मात्र नराखी नैतिक, अनुशासित, सिर्जनशील र जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्यका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो।यस वर्षको उपलब्धिले सम्पूर्ण विद्यालय परिवारलाई थप उत्साहित र जिम्मेवार बनाएको भन्दै आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्दै होराइजन जिविएस स्कुललाई गुणस्तरीय शिक्षाको अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति तथा नृत्य प्रस्तुत गर्दै समारोहलाई थप उल्लासमय बनाएका थिए।