दाङमा एआई र आधुनिक विद्यालय संस्कृतिबारे बृहत् शैक्षिक कार्यशाला सम्पन्न

प्रकाशित मिति:

भालुबाङ (दाङ) ।परम्परागत शिक्षण पद्धतिलाई परिमार्जन गर्दै प्रविधि र नवीन सोचका साथ नेपाली शिक्षा क्षेत्रलाई अगाडि बढाउने उद्देश्यले दाङमा एक विशेष शैक्षिक कार्यशाला सम्पन्न भएको छ। राप्ती गाउँपालिका–४, मौरीघाटस्थित चैतन्य पाठशालाको सभाहलमा शनिबार “परिवर्तनको नेतृत्व गर्दै शिक्षाशास्त्र, कृत्रिम बुद्धिमत्ता (AI) र विद्यालय संस्कृतिलाई पुनर्परिभाषित गर्दै आफ्नो विद्यालयका लागि सम्भावनाहरूको पुनर्कल्पना” विषयक एकदिने विचार–गोष्ठी भव्यताका साथ सम्पन्न भएको हो।

स्मार्ट आईटी सोलुसन, नेपाल र चैतन्य पाठशाला, राप्ती उपत्यकाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यशालामा यस क्षेत्रका विभिन्न विद्यालयका प्रिन्सिपल, सञ्चालक, संयोजक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।अनलाइन फारम मार्फत दर्ता भएर सहभागी भएका प्रधानाध्यापक र शिक्षकहरूका लागि यो कार्यक्रम केन्द्रित गरिएको थियो।​कार्यक्रममा अमेरिकाको आउबर्न विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका वैज्ञानिक अनुसन्धानकर्ता एवं बुटवल पब्लिक स्कुलका प्राज्ञिक सल्लाहकार डा. मीन प्रसाद खनाल, अमेरिकाकै लुइसियाना राज्य विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका अन्तर्राष्ट्रिय शिक्षाविद् तथा चैतन्य पाठशालाका प्रबन्ध निर्देशक डा. जीवराज आचार्य, र दीप एकेडेमीका प्रधानाध्यापक एवं शैक्षिक अभियन्ता विष्णु प्रसाद ढकालले मुख्य वक्ताका रूपमा सहजीकरण गर्नुभएको थियो।

​चैतन्य पाठशालाकी प्राचार्य सुष्मा रेग्मीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम विद्यालयको सभाहलमा पाँच घण्टाभन्दा बढी समयसम्म सञ्चालन भएको थियो। सो अवसरमा सहजकर्ताहरूले शिक्षा क्षेत्रमा एआईको बढ्दो भूमिका र प्रयोग, भविष्यका चुनौतीहरू सामना गर्न सक्ने शिक्षण र सिकाइ अभ्यासहरू, विद्यालयमा सकारात्मक, रचनात्मक र रूपान्तरणकारी संस्कृतिको निर्माण तथा शैक्षिक उत्कृष्टता हासिल गर्नका लागि आवश्यक नेतृत्वदायी रणनीतिहरूका बारेमा विस्तृत प्रस्तुति दिनुभएको थियो।​कार्यशालाका क्रममा सहभागीहरूले विद्यालय सञ्चालन तथा शिक्षण सिकाइसँग सम्बन्धित विभिन्न जिज्ञासा र व्यावहारिक समस्याहरू राखेका थिए भने विज्ञ सहजकर्ताहरूले तिनको ठोस समाधान प्रस्तुत गर्नुभएको थियो।स्मार्ट आईटी सोलुसनका व्यवस्थापकीय निर्देशक लेखनाथ पन्थले नयाँ सोच र प्रविधिलाई आत्मसाथ गर्दै शैक्षिक संस्थाहरूलाई समयसापेक्ष बनाउन चाहने सम्पूर्ण शिक्षा प्रेमीहरूका लागि यो कार्यक्रम एउटा सुनौलो अवसर बनेको बताउनुभयो।सहभागीहरूले कार्यशाला अत्यन्तै उपयोगी, ज्ञानमूलक र समयानुकूल भएको प्रतिक्रिया व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।