१९ असार । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ साङ्गेतडामा कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी दुर्घटनाको २४ घण्टा बितिसक्दा पनि गाडी फेला परेको छैन भने त्यसमा सवार यात्रुको संख्या पनि यकिन हुन सकेको छैन ।
बिहीबार बिहान करिब ११:३० बजे सुर्खेतबाट कालिकोट जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा गाडीमा ५–६ जना यात्रु रहेको अनुमान गरिए पनि आधिकारिक विवरण अझै संकलन भइरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोली सहित नेपाल प्रहरी र अन्य सुरक्षा निकायका ५० भन्दा बढी सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन् । तर वर्षापछि नदीको बहाव बढ्नु, पानी धमिलो हुनु र दुर्घटनास्थल अत्यन्तै भिरालो भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।
हालसम्म घटनास्थलबाट गाडीका केही सिट, केही मोबाइल फोन र एक जनाको शव मात्रै फेला परेको छ । मृतकको सनाखत कालिकोटको पचालझरना गाउँपालिका ९ निवासी ५४ वर्षीय जेखे तिरुवाका रूपमा भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको गाडी बुलबुले यातायात प्रालिको रहेको पुष्टि भएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले खोजी र अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ ।













