कर्णालीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

प्रकाशित मिति:

२३ माघ, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त मन्त्रीहरूले आइतबार साँझ प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।गत १६ कातिकमा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले आफ्नै दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट पाँचजना मन्त्री नियुक्त गरेका छन् । तीन दलीय गठबन्धन रहेको कर्णालीमा काँग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही नियुक्त भएका छन् ।

यस्तै, गठबन्धनभित्रको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जामन्त्री र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा ९कार्चेन० उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियूक्त भएका छन् ।यस्तै, एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् । माओवादीबाट यसअघि विन्दमान विष्ट आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन भने एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनिसकेका छन् । यो सँगै आठ सदस्यीय प्रदेश मन्त्रीमण्डलले पूर्णता पाएको छ ।

यसअघि चारवटा मन्त्रालयको दाबी गर्दै आएको माओवादीले तीन र तीनवटा मन्त्रालयको दाबी गर्दे आएको एकीकृत समाजवादीले दुईवटा मन्त्रालयमा चित्त बुझाएका छन् । गैरसांसद कार्चेन लामालाई माओवादीले मन्त्री बनाएको भन्दै दलभित्रकै नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।