कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति: ८ ठाउँमा जग्गा, बैंकमा १ करोड ८ लाख मैज्दात, ५६ तोला सुन

प्रकाशित मिति:

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग कति सम्पत्ति छरु मुख्यमन्त्री बनेलगत्तै उनले सम्पत्ति विवरण पेश गर्नुपर्ने भए पनि गरेका थिएनन्। त्यसैले उनको सम्पत्ति विवरण खुलेको थिएन।गत पुस ८ मै मुख्यमन्त्री शाहीले आफ्नो सम्पत्ति विवरण पेश गरेका थिए। तर मुख्यमन्त्री शाहीले पेश गरेको सम्पत्ति विवरण एक महिनापछि सोमबार मुख्यमन्त्री कार्यालयको वेबसाइटमा सबैले हेर्न मिल्ने गरी राखिएको छ।

पहिलो पटक मुख्यमन्त्री बनेका नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेतासमेत रहेका शाहीको सम्पत्ति के-के छरु उनले जग्गादेखि सुनसम्म जोडेका रहेछन्।उनको बैंक खातामै ७७ लाख रूपैयाँ रहेको देखाएका छन्। सिटिजन्स बैंकमा २५ लाख, सानिमा बैंकमा ३८ लाख र एनआइसी एसिया बैंकमा १४ लाख छ।उनकी पत्नी बसन्ती शाहीका नाममा सिटिजन्स बैंकमा १५ लाख, एनआइसी बैंकमा १६ लाख पैसा छ। यी रकम पारिश्रमिक, व्यवसाय र जग्गा विक्रीबाट कमाएको मुख्यमन्त्री शाहीले सम्पत्ति विवरणमा खुलाएका छन्।मुख्यमन्त्रीकी पत्नी बसन्ती नेपाल सरकारको कर्मचारी थिइन्। उनी हाल कर्णाली प्रदेश लोक सेवा आयोगको सदस्य पनि छन्।

साथै मुख्यमन्त्री शाही र पत्नी बसन्तीका नाममा शुभचिन्तकसँग छरछ लाख रूपैयाँ बचत रहेको पनि उल्लेख गरिएको छ। त्यो बचत २०५० सालदेखिको भएको शाहीले उल्लेख गरेका छन्।उनले आफूहरूसँग ५६ तोला सुन रहेको बताएका छन्। त्यो पुख्यौली सम्पति रहेको र व्यापार तथा व्यवसाय गर्दाकै बेलादेखिको भएको उनको भनाइ छ। साथै २ किलोग्राम चाँदी पनि छ। नवरत्न र औंठी गरी ३ लाख बराबरको सम्पति पनि छ।मुख्यमन्त्री दम्पतिका नाममा आठ ठाउँमा जग्गा छन्। हुम्ला, बाँके र काठमाडौंमा घरजग्गा छ। मुख्यमन्त्री शाहीको नाममा हुम्लाको सिमकोटमा ७२३.७५ वर्गमिटर जग्गा र घर रहेको उल्लेख छ।काठमाडौं महानगरपालिका १६ मा ३३०.७५ वर्गमिटर जग्गा र त्यसमा घर रहेको सम्पत्ति विवरणमा पेश गरिएको छ। व्यापार तथा व्यवसायबाट प्राप्त आम्दानीबाट यी जग्गा र घर जोडेको उनले खुलाएका छन्।

साथै हुम्लाको खार्पुनाथमा २१५ रोपनी जग्गा पनि छ। बाँकेको खजुरामा २ विघा जग्गा मुख्यमन्त्री शाहीको नाममा छ। उनका नाममा नेपालगञ्जमा पनि जग्गा रहेको छ। तर त्यहाँ कति जग्गा छ भन्ने खुलाइएको छैन।यीमध्ये केही पुख्यौली सम्पति र केही आफूले खरिद गरेको शाहीले बताएका छन्।पत्नी बसन्तीका नाममा हुम्लाको सिमकोटमा ५४८.२५ वर्गमिटर जग्गा र घर छ। साथै काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ मा २४ लाखमा खरिद गरिएको जग्गा पनि छ।मुख्यमन्त्री शाहीका नाममा बजार मूल्यमा आधारित १३ हजार कित्ता साधारण शेयर रहेको छ। जसमध्ये चिलिमे जलविद्युत् आयोजनाको २ हजार ६०० कित्ता, ज्योति विकास बैंकको १० हजार कित्ता र कृषि विकास बैंकको ४०० कित्ता रहेको छ।मुख्यमन्त्री शाहीको सम्पत्ति विवरणमा एक करोड ७२ लाख ऋण देखाइएको छ। जुन किस्तामा तिरिरहेको उल्लेख गरिएको छ।व्यक्तिसँग ४० लाख र ज्योति विकास बैंकमा १ करोड ३२ लाख रुपैयाँ ऋण रहेको उल्लेख गरिएको छ।उनीसँग गाडी छ। जसको खरिद मूल्य ९५ लाख उल्लेख गरिएको छ। उक्त गाडी २०७१ सालमा खरिद गरिएको थियो।

मुख्यमन्त्री शाहीपछि एक मन्त्रीले पनि सम्पत्ति विवरण पेश गरेका छन्।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका चन्द्रबहादुर शाहीले मुगुको सोरु गाउँपालिकामा २१ रोपनी जग्गा र घर रहेको विवरण पेश गरेका छन्। उक्त घरजग्गा पुख्यौली भएको उनले खुलाएका छन्।साथै भक्तपुरको चाँगुनारायण नगरपालिकामा ५ आना जग्गा र घर रहेको छ। ५ तोला सुन, १ तोला चाँदी मन्त्री शाहीको सम्पत्ति विवरणमा देखाइएको छ।मासिक तलब तथा भत्तावापत प्राप्त ३ लाख रुपैयाँ एनआईसी एसिया बैंकमा बचत रहेको उनले उल्लेख गरेका छन् भने विभिन्न व्यक्तिबाट ११ लाख रुपैयाँ ऋण लिएको विवरण उनले पेश गरेका छन्।