कर्णाली दुर्घटनाबारे आफ्नै सरकारलाई रास्वपा सांसदको प्रश्न : गृहमन्त्रीले संसदमा जवाफ दिनैपर्छ

प्रकाशित मिति:

२२ असार । कर्णाली राजमार्गमा भएको सवारी दुर्घटना र त्यसपछिको उद्धार कार्यलाई लिएर प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्ष दुवैले सरकारसँग स्पष्टीकरण माग गरेका छन् । विशेषतः सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद रमेश प्रसाईंलेनै गृहमन्त्री सुधन गुरुङसँग प्रत्यक्ष जवाफ मागेपछि यो विषयले थप राजनीतिक महत्व पाएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद प्रसाईंले सरकारले दुर्घटनापछि उपलब्ध सम्पूर्ण स्रोत र क्षमता परिचालन गरेर उद्धार गरेको हो वा होइन भन्ने विषयमा स्पष्ट उत्तर दिनुपर्ने बताए ।

उनले दुर्घटनास्थलमा मानिसहरू लामो समयसम्म भिरमा अड्किएर हारगुहार गरिरहेको भन्ने विवरण सार्वजनिक भएको उल्लेख गर्दै त्यसमा सरकारको लापरबाही भएको हो कि होइन भन्ने प्रश्न उठाए ।

उनले भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुःखद दुर्घटना दोहोरिन नदिन सरकारले कस्ता दीर्घकालीन योजना बनाएको छ भन्नेबारे पनि जानकारी दिन माग गरे। प्रसाईंले गृहमन्त्री संसदको रोष्ट्रममा उपस्थित भएर औपचारिक रूपमा जवाफ दिनुपर्ने अडान राखे ।

उनले नागरिकको ज्यानसँग जोडिएको विषयमा राजनीतिक दलहरू सत्ता र प्रतिपक्षको सीमाभन्दा माथि उठ्नुपर्ने धारणा व्यक्त गर्दै सभामुखसँग तत्काल रुलिङ गरी सरकारलाई जवाफ दिन निर्देशन दिन आग्रह गरे।

यसअघि विपक्षी सांसदहरूले पनि सरकारले कर्णाली दुर्घटनाको उद्धार कार्यमा पर्याप्त चासो नदिएको आरोप लगाउँदै घटनाबारे विस्तृत जानकारी र जिम्मेवारीको माग गरेका थिए । रास्वपा सांसदले समेत यही विषयमा सरकारलाई कठघरामा उभ्याएपछि संसदमा दुर्घटनाको उद्धार व्यवस्थापनबारे थप बहस हुने संकेत देखिएको छ ।