एभरेस्ट माविमा अभिभावकलाई अभिमुखीकरणसँगै शिक्षकलाई क्षमता विकास तालिम

प्रकाशित मिति:

असार । बुटवल–८ सुख्खानगरमा रहेको एभरेस्ट माध्यमिक विद्यालयमा दुई दिने अभिभावक अभिमुखिकरण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको शैक्षिक उपलब्धि, विद्यालय–अभिभावक सहकार्य तथा शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार र आइतबार गरि दुई दिन संचालन गरिएको हो । अभिभावक भेटघाट, अन्तरक्रिया तथा अभिमुखीकरण नाम दिइएको कार्यक्रममा विद्यालयको सेक्टर–दुईमा आफ्ना बालबालिका अध्यापन गराउने चार सय अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पहिलो दिन सेक्टर–दुईका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीका करिब २५० जना अभिभावक तथा दोस्रो दिन नर्सरीदेखि कक्षा १ सम्मका करिब १५० जना अभिभावकहरूको सहभागिता रहेको विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपाने विद्यालयका शैक्षिक गुणस्तरवृद्धिकालागि निरन्तर रुपमा विद्यालयमा अभिभावक शिक्षकहरुकालागि कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयमा विद्यार्थीलाई शैक्षिक उत्कृष्टता हासिल गर्न सक्ने बनाउने गरि सिकाई उपलब्धिलाई बढाउने र घरमा ति विद्यार्थीलाई संस्कारसँगै थप सिकाइ उपलब्धिलाई प्रोत्साहन गर्ने जुक्ती सिकाउने कार्यलाई विद्यालयले निरन्तरता दिदै आएको बताउनुभयो ।

कार्यक्रममा उपप्राचार्यत्रय उमेश रेग्मी, विष्णुप्रसाद न्यौपान, माला पाण्डे, कार्यक्रम संयोजन आशा भुसाललगायतले तालिम र सिकाइ निरन्तर आवश्यक पर्ने भएकाले विद्यार्थीसँगै अभिभावक र शिक्षकहरुले पनि निरन्तर सिकाइ प्रकृयालाई निरन्तरता दिनु पर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक कमल सिलवालले विद्यालय, अभिभावक र विद्यार्थीबीचको प्रभावकारी समन्वय, बालबालिकाको सर्वाङ्गीण विकास, सकारात्मक अभिभावकीय भूमिका तथा गुणस्तरीय शिक्षाका विविध पक्षबारेमा सहजीकरण गर्नुभएको थियो भने तुमला सिलवालले निरन्तर मूल्याङ्कन प्रणालीको प्रभावकारी कार्यान्वयन, विद्यार्थीको सिकाइ उपलब्धिको नियमित मूल्याङ्कन, अभिलेखीकरण तथा सुधारात्मक शिक्षणका विविध पक्षमा प्रशिक्षण दिनुभएको थियो । यसैबीच सोही अवसरमा कक्षा १ देखि ५ सम्मका शिक्षकहरुको क्षमता विकासकालागि विद्यालयमा निरन्तर मूल्याङ्कन पद्धति क्यास विषयमा सहजिरकण गरिएको सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।