एसईईमा उत्कृष्ट नतिजा दिलाउने २२ शिक्षक सम्मानित

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार ३० गते
नवलपरासी । पश्चिम नवलपरासीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा दिलाउने २२ जना शिक्षकलाई सम्मान गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को आयोजनामा जिल्ला समन्वय समितिको सभाहल, परासीमा आयोजित ‘उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम’ मा शैक्षिक सत्र २०८१ र २०८२ मा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गराउने सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो।


शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी सुभाषचन्द्र गौतमका अनुसार शैक्षिक सत्र २०८१ मा १० जना शिक्षक सम्मानित भएका छन्। तीमध्ये पाँच जना सामुदायिक तथा पाँच जना संस्थागत विद्यालयका हुन्। त्यसैगरी शैक्षिक सत्र २०८२ मा १२ जना शिक्षक सम्मानित भएका छन्, जसमध्ये छ जना सामुदायिक तथा छ जना संस्थागत विद्यालयका रहेका छन्। दुवै शैक्षिक सत्र गरी कुल २२ जना शिक्षक सम्मानित भएका हुन्। उहाँका अनुसार एसईई परीक्षामा विद्यार्थीले हासिल गरेको विषयगत सिकाइ उपलब्धि तथा नतिजाका आधारमा उत्कृष्ट शिक्षक छनोट गरी सम्मान गरिएको हो। यस कार्यक्रमको उद्देश्य गुणस्तरीय शिक्षाको प्रवर्द्धन, शिक्षकको मनोबल अभिवृद्धि तथा उत्कृष्ट कार्यको सम्मान गर्नु रहेको उहाँले बताउनुभयो।


शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयतर्फ अनिवार्य अङ्ग्रेजी विषयमा महाकवि देवकोटा माध्यमिक विद्यालय, सुनवलका हिमादेवी न्यौपाने, नेपाली विषयमा वाक्वणी माध्यमिक विद्यालयकी माया चौधरी, गणित विषयमा दुर्गा गौतम, विज्ञान विषयमा संगीता शर्मा तथा सामाजिक विषयमा विकास भण्डारी सम्मानित भएका छन्। त्यस्तै संस्थागत विद्यालयतर्फ न्यू लाइफ बोर्डिङ सेकन्डरी स्कुल, बर्दघाटका अङ्ग्रेजी शिक्षक दिनानाथ पौडेल, नेपाली शिक्षक दुर्गाप्रसाद पङ्गेनी, विज्ञान शिक्षक चिरञ्जीवी न्यौपाने, ज्ञानज्योति एकेडेमीका गणित शिक्षक श्यामसुन्दर रेग्मी तथा कुमुदिनी बोर्डिङ स्कुल, बर्दघाटका सामाजिक विषयका शिक्षक केदार चौधरी सम्मानित भएका छन्।


शैक्षिक सत्र २०८२ मा सामुदायिक विद्यालयतर्फ जगन्नाथ माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक गणेशकुमार अर्याल, नेपाली विषयकी सावित्री चौलागाईं, गणित शिक्षक बिन्दुराज अधिकारी, महाकवि देवकोटा माध्यमिक विद्यालयकी विज्ञान तथा प्रविधि शिक्षिका संगीता शर्मा तथा रामपुर माध्यमिक विद्यालयकी सामाजिक विषयकी शिक्षिका तारा पन्थी सम्मानित भएका छन्।


संस्थागत विद्यालयतर्फ न्यू लाइफ बोर्डिङ सेकेन्डरी स्कुल, बर्दघाटका अङ्ग्रेजी शिक्षक दिनानाथ पौडेल,  गणित शिक्षक मोहनशरण पाण्डेय, र देव हिताङ्ग, विज्ञान शिक्षक चिरञ्जीवी न्यौपाने र समाजिक शिक्षक हिमाल चन्द्र अर्याल तथा रामनगर एकेडेमीका सामाजिक विषयका शिक्षक सृजन पोखरेल सम्मानित भएका छन् ।


यसैबीच, न्यू लाइफ माध्यमिक विद्यालय, बर्दघाटका प्रिन्सिपल सन्तोष अधिकारीले शैक्षिक सत्र २०८१ मा नेपाली, अङ्ग्रेजी र विज्ञान विषयका तीन जना तथा शैक्षिक सत्र २०८२ मा गणित, अङ्ग्रेजी, सामाजिक र विज्ञान विषयका ४ जना गरी विद्यालयका शिक्षक सम्मानित भएको जानकारी दिनुभयो। लगातार दुई शैक्षिक सत्रमा विद्यालयका सात जना शिक्षक सम्मानित हुनु विद्यालयको उत्कृष्ट शैक्षिक उपलब्धिको प्रमाण भएको उहाँले बताउनुभयो। ४ जना बिषय गत शिक्षक सम्मानित हुनु विद्यार्थी, शिक्षक र विद्यालयको मेहनतको प्रतिफल भएको अधिकारीले उल्लेख गर्नु भयो ।



कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षकको मेहनत, विद्यालय व्यवस्थापन समितिको सक्रियता र अभिभावकको सहयोगबाट मात्र शैक्षिक गुणस्तरमा सुधार सम्भव हुने उल्लेख गर्दै यस्ता सम्मानले शिक्षकलाई थप उत्साहित र जिम्मेवार बनाउने विश्वास व्यक्त गरे। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख, स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो। सम्मानित शिक्षकलाई दोसल्ला ओढाई प्रशंसापत्र प्रदान गरिएको थियो ।