हरी ॐ , ॐ दान गर्दा ध्यान दिनुपर्ने कुरा के के हुन् ? हेर्नुहोस् आज मिती २०७५ पुष २३ को निती बचन !
अनादरो विलम्बश्च वै मुख्यं निष्ठुरं वचम् ।
पश्चातापश्च पञ्चापि दानस्य दूषणानि च ।। –नीति श्लोक
अपमान गरेर दान गर्नु, ढिलो गरी दान गर्नु, भनेको कुरा बदलेर दान गर्नु, वचन लगाएर दान गर्नु र दान दिएर पश्चाताप गर्नु व्यर्थ हुन् ।
मान्छे मैले यति धेरै दान दिएँ भनेर निकै प्रचार प्रसार गरिरहेका हुन्छन् । जुन गलत हो । दान गरेको वस्तु त आफैँलाई पनि थाह नहोस् भन्ने हाम्रो पौरस्त्य मान्यता रहेको छ । गोप्य दानको महिमा अझ धेरै रहेको छ । जसले अपमान गरेर दान गर्छ त्यो दान व्यर्थको हो । यस्तो दान गर्नु र नगर्नुमा कुनै भेद रहँदैन । यसैगरी एउटा समयमा दिन्छु भनेर भाकल गर्ने तर भाका नाघेपछि दान गर्दा पनि निष्फल हुन्छ । साथै एउटा कुरा दान गर्छु भनेर संकल्प गरी अर्के वस्तु दान गर्ने प्रवृत्ति पनि खराब हो । यसैगरी दान गरेको वस्तुमा वचन पनि लगाउनु हुँदैन । त्यसमा कुनै खोट लगाउनु र प्रशंसा गर्नु पनि हुँदैन । यसैगरी जसले. दान गरेर पश्चाताप गर्छ त्यो दानको फल शून्यप्राय हुन्छ । अतः दान गरेर कहिल्यै पनि पश्चाताप गर्नु हुँदैन भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–










