‘स्पेन आध्यात्मिक महोत्सव’बाट ५ करोड बढी संकलन, बार्सिलोनामा ‘नेपाल घर’ निर्माण गरिने
✍️ भरत प्रधान
लिस्बन । स्पेनको बार्सिलोनामा सञ्चालित ‘स्पेन आध्यात्मिक महोत्सव’ भव्यताका साथ सम्पन्न भएको छ ।
बार्सिलोनामा नेपाल घर तथा मन्दिर निर्माणार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले आयोजना गरेको उक्त महोत्सवबाट ५ करोड रुपैयाँ बढी आर्थिक संकलन भएको छ । पाँच दिनसम्म सञ्चालन भएको महोत्सवबाट तीन लाख सात हजार युरो अर्थात् पाँच करोड ३० लाख रुपैयाँ आर्थिक संकलन भएको महोत्सवका संयोजक एवं एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवबाट एक लाख तीन हजार युरो नगद रकम संकलन भएको र बाँकी दुई लाख चार हजार युरो दाताले दान गर्ने प्रतिबद्धता सहित दान रकम घोषणा गरेको श्रेष्ठले बताउनुभयो । महोत्सवमा सबैभन्दा बढी दान रकम स्पेनवासी नेपाली व्यवसायी बालकृष्ण तिवारीले १५ हजार पाँच सय ५५ युरो र अर्का व्यवसायी वीरबहादुर सार्कीले सात हजार सात सय ७७ युरो सहयोग गरेको श्रेष्ठले बताउनुभयो।
महोत्सवबाट दुई लाख युरो संकलन गर्ने लक्ष्य राखिएको भएपनि दाताहरूले मन खोलेर उत्साहका साथ सहयोग गरेका कारण दान रकम अपेक्षा गरिएको भन्दा बढी संकलन भएको उहाँले बताउनुभयो । “महोत्सवले आर्थिक संकलन मात्र नभई सकारात्मक ऊर्जा, आत्मिक शान्ति र आध्यात्मिक जागरणको अभिवृद्धि गर्नुका साथै विदेशी भूमिमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ,” श्रेष्ठले भन्नुभयो।
स्पेनवासी नेपाली समुदायको सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिका लागि बहुउपयोगी साझा केन्द्र स्थापना गर्ने लक्ष्यसहित बार्सिलोनामा नेपाल घर तथा मन्दिर निर्माणका लागि महोत्सव सञ्चालन गरी सहयोग संकलन गरिएको श्रेष्ठले बताउनुभयो। महोत्सवबाट संकलित रकममा थप रकम जुटाएर करिब पाँच लाख युरोको लागतमा नेपाल घर तथा मन्दिर निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गरेको भन्दै स्पेनमा क्रियाशील नेपाली संघसंस्था सहित स्पेनवासी नेपाली समुदायलाई संयोजक श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको छ । महोत्सवमा प्रमुख वाचक वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत सहित वेद र बौद्ध दर्शनमा आधारित रहेर प्रवचन दिनुभएको थियोे ।













