पोर्चुगलमा धर्मदेशना तथा अभिषेक कार्यक्रम भव्य रूपमा सम्पन्न, रिन्पोछेको विशेष प्रवचन

प्रकाशित मिति:

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा धर्मदेशना तथा वाङ (अभिषेक) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल, शेर्पा किदुग पोर्चुगल, किरात याक्थुङ चुम्लुङ पोर्चुगल, तमु समाज पोर्चुगल, तामाङ समाज पोर्चुगल, मगर संघ पोर्चुगल, नेवा समाज पोर्चुगल तथा थारु कल्याणकारीणी सभा पोर्चुगलको संयुक्त आयोजनामा राजधानी लिस्बनमा धर्मदेशना तथा वाङ (अभिषेक) कार्यक्रम भव्ताका साथ सम्पन्न भएको हो । सो अवसरमा बौद्ध धर्मगुरु खेन्पो साङ्गे राङ्जुङ रिन्पोछेले विशेष पूजापाठ गर्नुका साथै श्रद्धालु भक्तजनहरुलाई धर्मदेशना तथा वाङ (अभिषेक) दिनुभएको थियोे ।

युरोप भ्रमणका क्रममा पहिलो पटक पोर्चुगल आउनुभएका धर्मगुरु रिन्पोछेले मानसिक शान्ति, दुःखबाट मुक्ति तथा बौद्ध दर्शनको महत्वबारे प्रवचन दिनुभएको थियो । उहाँले करुणा, मैत्री र प्रज्ञाको अभ्यासलाई आत्मसात् गर्न सके सुखी, शान्त र अर्थपूर्ण जीवन जिउन सकिने बताउनुभयो।


कार्यक्रममा पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदाय, बौद्ध धर्मावलम्बी तथा श्रद्धालुहरूको उत्साहजनक सहभागिता रहेको थियो। पोर्चुगलस्थित बौद्ध तथा लामा गुरुहरू, धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धनराज शेर्पाले बताउनुभयो। बेल्जियम, जर्मनी, डेनमार्क, फ्रान्स, स्वीट्जरल्याण्ड र पोर्चुगलमा आयोजित कार्यक्रमहरू सम्पन्न गरी धर्मगुरु रिन्पोछे अमेरिका प्रस्थान गर्नुभएको शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रमका संयोजक लामा फुरी शेर्पाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघसंस्था सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा रिन्पोछेका नेपाली तथा अङ्ग्रेजी भाषा अनुवादक खेन्पो पेम छिरी शेर्पाको पनि सहभागिता रहेको थियो।