✍️भरत प्रधान
लिस्बन, २० साउन । युरोपेली मुलुक पोर्चुगलमा युरोपस्तरीय ‘एनआरएनए टी-१० क्रिकेट प्रतियोगिता-२०२६’ हुने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर १४ देखि १६ सम्म राजधानी लिस्बनमा पहिलोपटक युरोपस्तरीय ‘एनआरएनए टि-१०’ क्रिकेट प्रतियोगिता हुने भएको हो । नेपाली युवापुस्ता माझ क्रिकेटप्रतिको बढ्दो आकर्षण, क्रिकेटप्रतिको रुचि, उत्साह र सम्भावनालाई मध्यनजर गर्दै पोर्चुगलमा पहिलोपटक नेपाली क्रिकेट प्रतियोगिताको आयोजना गरिएको संघले जनाएको छ ।
नेपाली क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमीहरूलाई एउटै मञ्चमा जोड्ने, खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने, नयाँ खेलाडीहरूलाई अवसर प्रदान गर्ने तथा नेपाली क्रिकेटको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष सुरज विष्टले जानकारी दिए । उनका अनुसार प्रतियोगितामार्फत युरोपका विभिन्न मुलुकमा रहेका नेपाली समुदायका बीच आपसी भाइचारा, मित्रता, सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ । साथै, प्रवासमा खेलकुदको माध्यमबाट नेपाली कला, भाषा र संस्कृतिको प्रचारप्रसार एवं प्रवर्धन गर्ने उद्देश्यसहित विदेशी भूमिमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको विष्टले बताए ।
प्रतियोगिताका ब्रान्ड एम्बेसडर समेत रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी विनोद भण्डारीको समेत सहभागिता रहने प्रतियोगितामा युरोपका विभिन्न मुलुकका गरी आठ टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको विजेता टोलीले ५ हजार ५ सय ५५ युरो अर्थात् करिब ९ लाख ६५ हजार रुपैयाँ नगदसहित ट्रफी तथा उपविजेताले २ हजार ५ सय ५५ युरो अर्थात् ४ लाख ४५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ । उक्त पुरस्कारको धनराशि युरोपमा आयोजना हुने नेपाली खेलकुद प्रतियोगिताकै अहिलेसम्मको सबैभन्दा ठुलो रहेको आयोजकको दाबी रहेको छ । विष्टका अनुसार प्रतियोगिता आयोजना गर्न ४५ हजार युरो अर्थात् करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिने जनाउँदै आयोजकले खेल सञ्चालन, प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, प्राविधिक व्यवस्थापन तथा अन्य तयारीलाई तीव्र बनाइएको जनाएको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू युरोपियन क्रिकेट नेटवर्क (इसिएन) मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक उपसमिति गठन गरी व्यापक तयारीमा लागिएको विष्टले बताए । प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली संस्कृति झल्कने सांस्कृतिक झाँकीसमेत प्रदर्शन गर्ने तयारी भइरहेको उनले बताए ।
‘प्रतियोगिता खेल र प्रतिस्पर्धामा मात्र सीमित रहने छैन । प्रतियोगितामार्फत पोर्चुगलसहित युरोपका विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेट खेलाडीहरूको क्षमता र सम्भावनालाई उजागर गर्दै भविष्यमा नेपाली क्रिकेटको थप विकासका लागि आधार तयार गर्न सकिने हामीले अपेक्षा राखेका छौं,’ विष्टले भने ।

प्रतियोगितालाई भव्य र सफलतापूर्वक सम्पन्न गर्नका लागि पोर्चुगलवासी नेपाली समुदायलाई आवश्यक सहयोग र सक्रिय सहभागिताका लागि संघले विशेष आग्रह समेत गरेको छ ।









