पानीको संरक्षण र सरसफाइका बिषयमा बर्दघाट खानेपानीद्रारा विद्यार्थीलाई अभिमुखीकरण
प्रकाश न्यौपाने
साउन २२ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महत्व, सुरक्षित पानीको प्रयोग तथा सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको छ । संस्थाको आयोजनामा बर्दघाट ४ मा रहेको दाउन्नेदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाइ खानेपानी तथा सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कक्षा १० का ६२ जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले सुरक्षित र गुणस्तरीय खानेपानी मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले पानीको संरक्षण, शुद्धीकरण तथा उचित प्रयोगमा सबै सचेत हुनुपर्ने बताउनु भयो । उहाले खानेपानीको दिगो व्यवस्थापनका लागि उपभोक्ता, विद्यालय, समुदाय तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त राख्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष एवम् खानेपानी सुरक्षा योजना टोलीका संयोजक कमल थापाले खानेपानीको स्रोत संरक्षणदेखि उपभोक्ताको धारासम्म सुरक्षित पानी पुर्याउने प्रक्रियामा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउनु भएको थियो । थापाले पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि व्यक्तिगत सरसफाइसँगै घर, विद्यालय र समुदायको सरसफाइमा समेत विशेष ध्यान दिनुपर्ने बताउनु भयो । त्यस्तै, संस्थाका सचिव एवम् सरसफाइ समिति संयोजक शोभाकान्त कोइरालाले सरसफाइलाई दैनिक जीवनको व्यवहारसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनु भयो । उहाँले हात धुने सही तरिका, खानेपानीको सुरक्षित भण्डारण, शौचालयको उचित प्रयोग तथा विद्यालय र घर वरपरको वातावरण सफा राख्ने विषयमा विद्यार्थीहरूलाई जानकारी गराउनु भयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक विष्णु कुमार भुसालले बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्थापनादेखि हालसम्मको अवस्था, संस्थाले प्रदान गर्दै आएको सेवा, खानेपानी उत्पादन तथा वितरण प्रणाली र संस्थाका गतिविधिबारे प्रस्तुतीकरणमार्फत जानकारी गराउनु भएको थियो । भुसालले संस्थाले उपभोक्तालाई नियमित, सुरक्षित र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन गर्दै आएका प्रयासबारे समेत विद्यार्थीहरुलाइ जानकारी दिनु भयो ।
संस्थाका इन्जिनियर कुलदेव श्रेष्ठले पानीको महत्व तथा खानेपानीको दिगोपनका विषयमा प्रकाश पार्दै बढ्दो जनसंख्या, जलवायु परिवर्तन, पानीका स्रोतमा देखिँदै गएको दबाब तथा पानीको बढ्दो मागका कारण भविष्यमा खानेपानी व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने भएकाले अहिलेबाटै पानीको संरक्षण र विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताउनु भयो । श्रेष्ठले पानीको स्रोत संरक्षण, अनावश्यक पानीको खपत नियन्त्रण तथा वर्षाको पानी संकलनलगायतका उपायमार्फत पानीको दिगोपन कायम गर्न सकिने विषयमा विद्यार्थीहरूलाई जानकारी गराउनु भयो ।
कार्यक्रममा विद्यार्थीहरूले खानेपानीको शुद्धता, पानीको स्रोत संरक्षण, सरसफाइ, पानीको दिगो व्यवस्थापन तथा संस्थाले प्रदान गर्ने सेवासम्बन्धी विषयमा जिज्ञासा राखेका थिए । विद्यार्थीहरूलाई खानेपानी र सरसफाइका विषयमा व्यवहारिक ज्ञान तथा सचेतना प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यसमिति, खानेपानी सुरक्षा योजना टोली तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।

विद्यालय तहदेखि नै खानेपानी, सरसफाइ र वातावरण संरक्षणसम्बन्धी व्यवहारिक ज्ञान तथा चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने संस्थाको विश्वास छ । विद्यार्थीमार्फत परिवार तथा समुदायसम्म खानेपानी र सरसफाइसम्बन्धी सकारात्मक सन्देश पुर्याउन सकिने भएकाले आगामी दिनमा समेत यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।








