प्रकाश न्यौपाने
साउन २४ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा भूमिगत पानीको संरक्षण, सुरक्षित खानेपानीको प्रयोग र सरसफाइसम्बन्धी सचेतना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको खानेपानी सुरक्षा योजना समितिको आयोजनामा बर्दघाट–४ का आदर्शनगर आमा समूह र टोल विकास संस्थाका प्रतिनिधिहरूका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले पानीका स्रोत संरक्षण र सुरक्षित पानीको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
कार्यक्रममा संस्थाका अध्यक्ष दीपक लम्सालले भूमिगत पानीको सतह जोगाउन वृक्षारोपण, मुहान तथा तालतलैयाको संरक्षणसँगै कृत्रिम ताल निर्माण गरी पानी पुनःभरण गर्ने प्रणालीलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । “पानीको स्रोत संरक्षण नगर्ने हो भने भविष्यमा खानेपानीको समस्या अझ जटिल बन्न सक्छ,” उहाले भन्नु भयो, “त्यसैले अहिलेबाटै पानीका स्रोत जोगाउने अभियानलाई समुदायस्तरबाटै अघि बढाउनुपर्छ।” लम्सालले संस्थाले वितरण गर्दै आएको पानी नियमित परीक्षणपछि उपभोक्तामाझ पुर्याउने गरेको जानकारी दिँदै पानीको गुणस्तरका विषयमा उपभोक्ता अनावश्यक रूपमा चिन्तित हुनुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले क्लोरिनयुक्त पानीमा तामाको भाँडा प्रयोग नगर्नसमेत आग्रह गर्नु भयो ।
बर्दघाट नगरपालिकाका वास (WASH) शाखा प्रमुख कृष्णहरि पौडेलले नगरभित्र रहेका १२ वटा खानेपानी संस्थामध्ये बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था महत्वपूर्ण र अभिभावक संस्थाका रूपमा रहेको बताउनु भयो । त्यस्तै संस्थाका व्यवस्थापक विष्णु कुमार भुसालले संस्थाको स्थापना कालदेखि हालसम्मको अवस्था, सेवा प्रवाह तथा विभिन्न गतिविधिबारे प्रस्तुतीकरण गरे। उनले नियमित रूपमा खानेपानीको गुणस्तर परीक्षण गरी सुरक्षित पानी वितरण गर्दै आएको जानकारी दिँदै उपभोक्तालाई संस्थाको पानी ढुक्क भएर प्रयोग गर्न आग्रह गर्नु भयो ।
संस्थाका सल्लाहकार एवम् पूर्व लेखा संयोजक रवीन्द्र विक्रम हमालले संस्थाको गरिमा र विश्वसनीयता कायम राख्न पदाधिकारी, कर्मचारी, उपभोक्ता तथा सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । संस्थाकी कोषाध्यक्ष राधादेवी अधिकारीले गत आर्थिक वर्षमा संस्थाले करिब ३ लाख रुपैयाँ बचत गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले सामुदायिक संस्थाहरूको नेतृत्वमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा आदर्शनगर टोल विकास संस्थाका अध्यक्ष यज्ञ दाहालले बर्दघाटवासीलाई चौबीसै घण्टा खानेपानी उपलब्ध गराउँदै आएकोमा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भयो । आमा समूहका प्रतिनिधिहरूले मुहान संरक्षण, पानीको सदुपयोग र सरसफाइका कार्यक्रमलाई समुदायस्तरमा अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए ।
खानेपानी सुरक्षा योजना समिति सदस्य विष्णु गिरीको स्वागत मन्तव्य तथा सचिव शोभाकान्त कोइराला (शिव)को सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी, खानेपानी सुरक्षा योजना समितिका सदस्य तथा स्थानीय आमा समूह र टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

समितिका संयोजक कमल थापाका अनुसार बर्दघाट–४ का २३ वटा टोलमध्ये २० वटा टोलका आमा समूहलाई खानेपानी तथा सरसफाइसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिसकिएको छ। सस्थाले बिगत देखी नै उपभोक्ता केन्द्रित कार्यक्रमहरु गर्दै आइरहेकोमा आगामी बर्षमा पनि निरन्तरता दिने सस्थाले जनाएको छ ।








