शिक्षकहरूका लागि एस क्यू सी सहजकर्ता सीप विकास तालिम सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा, ८ भदौ ।
एसक्यूसी सिद्धार्थ हबको आयोजनामा विद्यालय तहका शिक्षकहरूका लागि आयोजित एसक्यूसी सहजकर्ता सीप विकास तालिम सम्पन्न भएको छ।
विद्यार्थीहरूमा गुणस्तरीय व्यक्तित्व र सकारात्मक सोच अभिवृद्धि गराउने उद्देश्यले सञ्चालित विद्यार्थी गुणीय चक्र (Student Quality Circle – SQC) सम्बन्धी शिक्षकहरूको ज्ञान सीप अभिवृद्धि गराउन यो कार्यक्रम आयोजना गरिएको हो।
तीन दिन सम्म सञ्चालन गरिएको तालिममा क्वेस्ट नेपालका सल्लाहकार तथा प्रमुख प्रशिक्षक दिपक गौतम, मास्टर टे«नरहरु, ध्रुव खरेल, मिलन भण्डारी, रविराज काफ्ले, प्रभात के.सी., सुर्य पौडेल, चक्रपाणी बस्यालले सहजिकरण गर्नुभएको थियो ।
तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाँले तालिममा सिकेका सीप र अवधारणालाई आ–आफ्नो विद्यालयमा सफलतापूर्वक लागू गर्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो।
समापन सत्रमा क्वेस्ट नेपालका सल्लाहकार दिपक गौतम, सिद्धार्थ हवका सल्लाहकार कुल प्रसाद लामिछानेले सहभागीहरुलाई सफलताको शुभकामना दिनुभएको थियो ।
सिद्धार्थ हबका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षता तथा शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा सहभागी शिक्षकहरूका तर्फबाट उदयराज बस्याल र मिठु खनाल आचार्यले आफ्नो अनुभव राख्नुभएको थियो। उहाँहरूले तालिमले कक्षाकोठामा विद्यार्थीहरूको नेतृत्व क्षमता र अनुशासन अभिवृद्धि गर्न व्यावहारिक मार्गदर्शन प्रदान गर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र र ब्याच समेत वितरण गरिएको थियो। तालिममा रुपन्देही, नवलपरासी र पाल्पाका गरी ३५ जना शिक्षकहरु सहभागी हुनुभएको थियो ।