२१ भदौ, रुपन्देही । बाँसगढी कृषक समूह, सैनामैना–९ को दोस्रो साधारणसभा आइतबार सैनामैना–९ स्थित दुर्गा मन्दिर तथा पुरानो वडा कार्यालय परिसरमा सम्पन्न भएको छ। समूहका अध्यक्ष नीर बहादुर पुलामीको अध्यक्षतामा सम्पन्न साधारणसभामा सैनामैना–९ का वडा अध्यक्ष भानुभक्त पाण्डे प्रमुख अतिथि तथा सैनामैना–९ का निवर्तमान वडा अध्यक्ष डोलनाथ भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा सैनामैना–९ का वडा सदस्य तुल्सी प्रसाद रिजाल, पूर्व वडा सदस्य सीता पौडेल, पिपलदादा जागरण कृषक समूहका अध्यक्ष दिलाराम भण्डारी तथा समूहका सल्लाहकार यम बहादुर थापा र सुवि गुरुङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा समूहका सदस्य चन्द्रकान्त अर्यालले स्वागत तथा समूहका सदस्य मधु पौडेलको संचालन रहेको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष भानुभक्त पाण्डेले फूलमा पानी हालेर साधारणसभाको औपचारिक उद्घाटन गर्नुभएको थियो।
साधारणसभामा समूहका अध्यक्ष नीर बहादुर पुलामीले समूहको वार्षिक गतिविधि, प्रगति तथा आगामी योजनासम्बन्धी अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमाथि छलफल गर्दै समूहका आगामी गतिविधिलाई थप प्रभावकारी बनाउने, कृषकबीच सहकार्य र एकता बढाउने तथा कृषि क्षेत्रको विकासमा समूहको भूमिकालाई थप सशक्त बनाउने विषयमा जोड दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष भानुभक्त पाण्डे, निवर्तमान वडा अध्यक्ष डोलनाथ भण्डारी, पूर्व वडा सदस्य सीता पौडेल तथा समूहका सल्लाहकार सुवि गुरुङ र यम बहादुर थापाले मन्तव्य राख्नुभएको थियो। उहाँहरूले कृषक समूहले स्थानीयस्तरमा कृषकहरूको क्षमता विकास, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, आपसी सहकार्य र कृषि क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
साधारणसभाका अवसरमा समूहमा आबद्ध भएका नयाँ सदस्यहरूलाई सम्मान समेत गरिएको थियो। नयाँ सदस्यहरूको सहभागिताले समूहलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको अध्यक्ष पुलामी मगरले जनकारी दिनुभयो । साधारणसभाले कृषकहरूको हित, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि र स्थानीय कृषि क्षेत्रको विकासका लागि आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। समूहका सदस्य तथा सरोकारवालाहरूको सक्रिय सहभागितामा दोस्रो साधारणसभा सम्पन्न भएको हो।









