१९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देखि बन्दसत्र सुरु हुँदैछ । काठमाडौंको खुलामञ्चमा आयोजना हुने बन्द सत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन प्रस्तुत गरिने भएको छ ।
बन्द सत्रमा देशभरबाट करिब ७ हजार ५०० महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । प्रतिवेदन माथिको छलफललाई व्यवस्थित बनाउन प्रतिनिधिहरूलाई हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरिनेछ ।
यसअघि सोमबार खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो । महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने भएकाले निर्वाचन सम्बन्धी प्रक्रिया पनि आजदेखि सुरु हुँदैछ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ । त्यसपछि साँझ ६:३० बजेसम्म नामावलीमाथि दाबी–विरोध गर्न सकिनेछ । मतदाताको अन्तिम नामावली भने आजै राति ८:३० बजे सार्वजनिक गरिनेछ ।
निर्वाचन समितिका अनुसार मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ । मतदान सकिएपछि तत्कालै मतगणना सुरु गर्ने तयारी छ ।
यसपटक कांग्रेसको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नगरी परम्परागत मतदान विधि अपनाइने एक पदाधिकारीले जानकारी दिएका छन् ।









