कांग्रेस रूपान्तरणको एजेन्डासहित देवदहका पूर्वनगरप्रमुख खत्री केन्द्रीय सदस्यको दौडमा, जिताउन अपिल
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा देवदहका पूर्व नगरप्रमुख हिराबहादुर खत्रीले भूगोलतर्फ लुम्बिनी प्रदेश (खुला) बाट उम्मेदवारी दिएका छन्।
रुपन्देहीको देवदह नगरपालिकाका पूर्वप्रमुख खत्रीले स्थानीय तहको नेतृत्व र पार्टी संगठनमा हासिल गरेको अनुभवलाई केन्द्रीय राजनीतिमा उपयोग गर्ने लक्ष्य सहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
खत्रीले कांग्रेसलाई समयअनुकूल रुपान्तरण गर्ने एजेन्डासहित आफ्नो उम्मेदवारी अघि सारेका हुन्। गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको रूपान्तरणको अभियानप्रति समर्थन जनाउँदै आएका उनी पार्टीको कार्यशैली सुधार, संगठन सुदृढीकरण र नयाँ पुस्ताको भावना समेट्नुपर्ने पक्षमा छन्।
२०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा सक्रिय खत्रीले नेपाल तरुण दलमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाएका थिए। संगठनको तल्लो तहबाट काम गर्दै आएका उनले कांग्रेसको जिल्ला तथा क्षेत्रीय संगठनमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। १२औँ महाधिवेशनमा जिल्ला सदस्य निर्वाचित भएका उनी पछि जिल्ला सचिवमा मनोनीत भएका थिए। १३औँ र १४औँ महाधिवेशनमा लगातार रुपन्देही क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा निर्वाचित हुनु उनको सांगठनिक यात्राको महत्वपूर्ण उपलब्धि हो।
२०७४ सालको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिकाको प्रमुखमा निर्वाचित भएका खत्रीले स्थानीय सरकार सञ्चालनको अनुभवसमेत हासिल गरेका छन्। उनी २०८२ सालमा रुपन्देही क्षेत्र नम्बर १ बाट संघीय संसद्को निर्वाचनमा समेत प्रतिस्पर्धामा उत्रिएका थिए।
रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित खत्रीले आफ्नो सांगठनिक अनुभव र परिवर्तनमुखी सोचलाई केन्द्रीय तहमा स्थापित गर्ने लक्ष्य लिएका छन्। ‘संस्कारसहितको राजनीति’ लाई आफ्नो मूल निष्ठा मान्ने उनले कांग्रेसलाई जनतासँग थप जोड्दै नयाँ पुस्ताको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्।
लुम्बिनी प्रदेश (खुला) बाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका खत्रीले देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई विजयी गराउन अपिल गरेका छन्।









