जनआन्दोलनको संघर्षदेखि प्रवासको नेतृत्वसम्म, कांग्रेस केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चन्दा अधिकारीले उम्मेदवारी दिएकी छन्।
जनआन्दोलनको संघर्षदेखि प्रवासमा पार्टी संगठन निर्माणसम्म सक्रिय रहेकी अधिकारीले अमेरिका, क्यानडा र अस्ट्रेलिया क्षेत्रबाट महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी अधिकारीले नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको संगठनमा विभिन्न जिम्मेवारी सम्हालेकी छन्।
२०५९ सालमा विद्यालयस्तरीय नेविसंघको अध्यक्ष बनेकी उनी २०६६ सालमा नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सदस्य निर्वाचित भएकी थिइन्। २०६२/६३ को जनआन्दोलनका क्रममा पटक–पटक घाइते हुनुका साथै राजनीतिक बन्दीसमेत बनेकी अधिकारीले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानका लागि २०६३ सालमा जनआन्दोलन नायक पुरस्कार प्राप्त गरेकी थिइन्।
नेपालबाट प्रवास पुगेपछि पनि कांग्रेसको राजनीतिमा सक्रिय रहेकी उनले क्यानडास्थित नेपाली जनसम्पर्क समितिको उपसभापति तथा वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गरेकी छन्। उनी नेपाली कांग्रेसकी महासमिति सदस्यसमेत हुन्। गैरआवासीय नेपाली संघ क्यानडाको निर्वाचित महासचिवका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ।
अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेकी अधिकारीले बौद्ध दर्शनमा आचार्य उपाधिसमेत हासिल गरेकी छन्। सामुदायिक सेवामा योगदान पुर्याएको भन्दै उनले सन् २०२३ मा क्वीन एलिजाबेथ द्वितीय कम्युनिटी भोलेन्टियर अवार्ड र सन् २०२५ मा किङ चार्ल्स तृतीय कोरोनेसन मेडल प्राप्त गरेकी थिइन्।
केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारीमार्फत अधिकारीले प्रवासमा रहेका नेपालीका सरोकारलाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियासम्म पुर्याउने, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई थप सुदृढ बनाउने तथा प्रवासी नेपाली र पार्टी नेतृत्वबीचको सम्बन्धलाई प्रभावकारी बनाउने लक्ष्य अघि सारेकी छन्।
उनको उम्मेदवारीले विदेशमा रहेर पार्टी संगठनमा योगदान गरिरहेका महिला नेतृहरूको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वको विषयलाई समेत चर्चामा ल्याएको छ।









