संविधानसभा सदस्य नगेन्द्र कुमालको कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी, जिताउन अपिल
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य नगेन्द्रकुमार कुमालले नेपाली कांग्रेसको सहमहामन्त्री पदमा अल्पसंख्यकतर्फ उम्मेदवारी दिएका छन्।
पार्टीभित्र समावेशी प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने र अल्पसंख्यक समुदायका मुद्दालाई नेतृत्व तहमा स्थापित गर्ने लक्ष्यसहित कुमालले अल्पसंख्यक अन्तर्गत सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन्। नेपाल विद्यार्थी संघको उपाध्यक्षदेखि आदिवासी जनजाति महासंघको अध्यक्ष र संविधानसभा सदस्यसम्मको अनुभव बटुलेका कुमालले पार्टीको पदाधिकारी तहमा पुग्ने लक्ष्यसहित उम्मेदवारी अघि सारेका हुन्।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका कुमालले संगठन निर्माण, समुदायको अधिकार र समावेशी प्रतिनिधित्वका विषयमा काम गर्दै आएका छन्। पार्टीभित्रको लामो सक्रियता र विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधार बनाएका छन्।
आदिवासी जनजाति समुदायको हक, अधिकार र पहिचानका सवाललाई राज्यका नीति तथा निर्णय प्रक्रियासँग जोड्न पहल गर्दै आएका कुमालले कांग्रेसभित्र पनि सबै समुदाय, वर्ग र क्षेत्रको समान सहभागितामा जोड दिएका छन्।
उनले आफू निर्वाचित भए पार्टी संगठनलाई थप सुदृढ बनाउँदै अल्पसंख्यक तथा आदिवासी जनजाति समुदायका मुद्दालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कुमालले आफूलाई विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गरेका छन्।









