लसर्घाबेसी भलिबल कप सम्पन्न, न्यु स्टार छाप बन्यो च्याम्पियन 

प्रकाशित मिति:

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२, लसर्घाबेसीमा आयोजित लसर्घाबेसी भलिबल कप प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । श्री आलमदेवी बहुउद्देश्यीय ग्रामीण सेवा परिवारको २७औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा न्यु स्टार छापले उपाधि जित्दै २ लाख रुपैयाँ पुरस्कार हात पारेको छ ।आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा इलुङ्गा खेलकुद समिति दोस्रो भएको छ । दोस्रो स्थान हासिल गरेको इलुङ्गाले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा बहुउद्देश्यीय स्पोर्ट्स क्लब तेस्रो हुँदै ५० हजार रुपैयाँ र पोखरा युनाइटेडले सान्त्वना स्थान हासिल गर्दै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

श्री आलमदेवी बहुउद्देश्यीय ग्रामीण सेवा परिवारका अध्यक्ष बुद्धि सिंह रानाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।उक्त समापन समारोहलाई सम्बोधन गर्दै भट्टराईले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खेलकुदले स्थानीय प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीयस्तरमा खेलकुद गतिविधिलाई निरन्तरता दिँदै प्रतिभावान् खेलाडीलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी अध्यक्ष बुद्धि सिंह रानाले क्लबको २७औँ वार्षिकोत्सवका अवसरमा प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य स्थानीय क्षेत्रमा भलिबल खेलको प्रवर्द्धन गर्नु, खेलाडीको प्रतिभा उजागर गर्नु र युवालाई खेलकुदप्रति आकर्षित गर्नु रहेको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए । प्रतियोगिताको समापन अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।स्थानीय खेलकुदको विकास र प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले खेलाडी तथा खेलप्रेमी बीच उत्साह थप्नुका साथै आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध मजबुत बनाउन योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।